फेरि बज्दैछ कम्युनिस्ट एकताको डम्फु !

कुनैबेला ‘एक वाम एक ठाम’ नारा लिएर अगाडी बढेका नेपालका कम्युनिस्ट पार्टीहरु अहिले ‘एकै ठाम दर्जनौं वाम’ को अवस्थामा छन् ।

भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन र त्यस अगाडि सम्पन्न भएको प्रतिनिधि सभा,प्रदेश सभा र स्थानीय पालिकाको उपनिर्वाचन परिणाम र कम्युनिस्टको प्राप्त मत हेर्दा एकै ठाम,धेरै वाम हुँदा के हुन्छ भन्ने देखियो ।

उपनिर्वाचनमा कम्युनिस्टहरु नमिल्दा धेरै ठाउँ गुमेको ती पार्टी भित्र छलफल हुने गरेको छ। त्यसैगरी प्रतिनिधि सभामा पनि कम्युनिस्ट एक ठाउँ भएर चुनाव लडेको भए अहिले कम्युनिस्ट सरकार हुने थियो भन्ने पश्चातापमा केही नेता देखिन्छन् । एमाले, माओवादी जस्ता कम्युनिस्ट पार्टी भित्रको एउटा समूहले के निश्कर्ष निकालेको छ भने अब एउटै पार्टी बनाउने बेला आइसकेको छ।

खासगरी नेकपा एमाले,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा भित्र यस्ता कुरा उठ्न थालेका छन् । यद्यपि पार्टी एकताको तहमा छलफल र गृहकार्य भने नभएको बुझिन्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली,माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल बिचको ‘ईगो’ ले अहिले पनि दोस्रो र तेस्रो तहका नेताहरूको ‘वामपन्थी एकता’ अभियानले मुर्तरुप लिन सकेको छैन। तथापि छलफल भने भएको छ।

पछिल्लो समय पुर्व राष्ट्रपति विद्या भण्डारीले समग्र वामपन्थीको नेतृत्व गर्ने गरि पनि एकाध अनौपचारिक छलफल भएका छन् । ओली, प्रचण्ड र नेपाललाई बिशेष भूमिकाको स्टेयरिङ कमिटीमा राखेर पुर्व राष्ट्रपति भण्डारीले एकीकृत सिङ्गो कम्युनिस्ट पार्टीको नेतृत्व गर्ने बारेपनी छलफल हुने गरेको छ।

भण्डारीलाई अध्यक्ष बनाएर झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ,शंकर पोखरेल,नेत्रबिक्रम चन्द विप्लव,पृथ्वीसुब्बा गुरुङ,जनार्दन शर्मा,घनश्याम भुषाल,बर्षमान पुन,रामकुमारी झाक्री,खड्ग बिश्वकर्मा लगायतलाई फ्रन्टमा राखेर अघि बढ्ने तयारी पनि छ।

ईश्वर पोखरेल,डा.बेदुराम भुषाल,बिष्णु पौडेल,पम्फा भुषाल,देव गुरुङ,रेखा शर्मा,रामबहादुर थापा,प्रदिप ज्ञवाली,लेखराज भट्ट,शक्ति बस्नेत,देवेन्द्र पौडेल,मेटमणी चौधरी,प्रेम आले लगायत नेताहरू वर्किङ कमिटीमा र युवा संघ,वाइसीएल,अनेरास्ववियु जस्ता संगठनलाई लडाकु र जुझारु अभियानको जिम्मा दिने पनि छलफलको बिषय बन्ने गरेको छ।

०८४ को निर्वाचन अगाडि नै कम्युनिस्ट एकता नभएपनी सहकार्य र मिलेर चुनाव लड्ने वातावरण बनाउने बारे पनि अनौपचारिक छलफल हुने गरेको स्रोतको भनाइ छ।
राजावादी शक्तिको हल्लाखल्ला र नेपाली कांग्रेस भित्रको आन्तरिक कलहको संकेत पाएपछि कम्युनिस्टहरु छलफलमा लागेको बुझिन्छ। यसमा केही नेताले अनौपचारिक भएपनी कुराकानी थालेका छन् ।

तर,ओली प्रचण्ड र नेपालले यसबारे केही संकेत गरेका छैनन् । उनीहरुको सचिवालयले समेत यी कुरामा जानकारी नभएको तर, छलफल हुनु सुखद भएको प्रतिक्रिया दिएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय