एसइई आजदेखि सुरु, पाँच लाख विद्यार्थी सहभागी

७ चैत, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदैछ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुनेछ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ।
गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ।
यस वर्षको एसइई आजदेखि सुरु भएर यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ।

