पोखरामा वडा अध्यक्ष माथी रड प्रहार
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर-२१ का वडा अध्यक्ष दिपक सुवेदी कुटिएका छन् ।
सार्वजनिक जग्गामा निर्माण हुँदै गरेको संरचना भत्काउन जाँदा वडाध्यक्षमाथि रड प्रहार भएको बुझिएको छ । वडा नम्बर २१ का वडा अध्यक्ष सुवेदीसहित अन्य जनप्रतिनिधिहरूलाई त्यहाँ उपस्थित केही ब्यक्तिले हातपात गरेका हुन् ।
वडा नम्बर २१ अन्तर्गत पर्ने निर्मलपोखरीको बाँझीपोखरीमा निर्माणाधीन संरचना हटाउन पुगेका सुवेदी र वडा सदस्य विमला केसीलाई संरचना निर्माण गराएका स्थानीय भूपेन्द्र गिरीको समूहले आक्रमण गरेको हो। प्रत्येक्षदर्शीका अनुसार गिरिले नै वडा अध्यक्ष सुवेदी माथी रड प्रहार गरेका थिए भने अपशब्द पनि बोलेका थिए ।
घटनाको महानगरका मेयर धनराज आचार्यले पनि विरोध जनाएका छन् । घटना भएको स्थान मेयरको छिमेकी गाउँ हो।’सार्वजनिक जमिन अतिक्रमण गरी संरचना बनाएको खबर पश्चात् सो संरचना हटाउन अनुरोध गर्दै कागजपत्र लिएर कार्यालय आउन अनुरोध गर्दा अटेर गरी उल्टै नगर प्रहरी, वडा अध्यक्ष र अन्य जनप्रतिनिधिहरूमाथि हातपात र आक्रमण भयो,’ मेयर आचार्यले भनेका छन् – ‘यो घटना निन्दनीय छ । यस गलत काम विरुद्ध कानुनी कारबाही सुनिश्चित भइरहेको छ ।’