समाजवादी मोर्चा बारे बाबुराम :कम्युनिस्ट भनेर कार्यकर्ता अनि समाजवादी भनेर जनता ठग्ने !

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले समाजवादी मोर्चालाई कटाक्ष गर्दै कम्युनिस्ट भन्न लाज लागेको भए पार्टीको नाम नै सामाजवादी राख्न सुझाएका छन् ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र,माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा सम्मीलित मोर्चालाई ‘समाजवादी मोर्चा’ भनिएकोमा त्यस्तो सुझाव दिएका हुन् ।
सामाजिक संजाल फेसबुकमा बाबुरामले लेखेका छन् -“केही पुराना ‘कम्युनिष्ट’ घटकहरूले मौसमी रूपमा एक ठाउँमा उभिएर आफुलाई ‘समाजवादी मोर्चा’ भन्ने गरेका छन्। ‘कम्युनिष्ट’ हरूको मात्र मोर्चा भएपछि त्यसलाई ‘कम्युनिष्ट मोर्चा’ भने भैहाल्थ्यो। यदि ‘कम्युनिष्ट’ भन्न लाज लागेको भए र ‘समाजवादी’ भन्नु उपयुक्त ठानेको भए पार्टीको नाम नै ‘समाजवादी’ राखे भैहाल्थ्यो!”
उनले अझै अगाडी लेखेका छन् -“कि ‘कम्युनिष्ट’ भनेर कार्यकर्तालाई ठग्ने, अनि ‘समाजवादी’ भनेर जनतालाई ठग्ने दोहोरो चाल हो? यसरी दुइवटा डुंगामा खुट्टा राखेर कता पुगिएला ?”
उनले यसलाई भयंकर वैचारिक र नैतिक विचलन हो भन्दै यसको सट्टा विगतका कम्युनिष्ट आन्दोलनका अनुभव र नयाँ युगको नयाँ आवश्यकता अनुरूप उत्तर-पुँजीवादी र उत्तर-साम्यवादी वैचारिक-राजनीतिक विकल्प खोज्नेतिर लाग्ने हो कि? भनेर सुझाब समेत दिएका छन् ।
भट्टराईले आफ्नो नयाँ शक्ति पार्टीका बिचार सहित अझ अगाडी भनेका छन् -‘त्यसनिम्ति सार्थक वहस हेतु नेसपा (नयाँ शक्ति) को हालै सम्पन्न प्रथम महाधिवेशनद्वारा पारित दस्तावेज “नयाँ युगको नयाँ कार्यभार: वैकल्पिक राजनीतिको औचित्य र आधार” बाट उद्धृत अंश “समुन्नत समाजवादको वैचारिक-राजनीतिक मार्ग निर्देशन” यहाँ प्रस्तुत गरिएको छ।’

