काबेलीमा अर्को जलविद्युत आयोजना थपियो
ताप्लेजुङ । पुर्वी नेपालको ताप्लेजुङमा उत्पादन गर्न लागिएको काबेली-३ जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ।
सिरिजङ्घा गाउँपालिकास्थित काबेली खोलाको पानी उपयोग गरी उत्पादन गर्न लागिएको २१.९३ मेगावाट क्षमताको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो।
हालसम्म आयोजनाको भौतिक संरचना निर्माणको काम करिब सम्पन्न भएको र निर्माणको काम अन्तिम चरणमा पुगेसँगै आउँदो चैत महिना भित्रै आयोजनाबाट औपचारिक रूपमा विद्युत् उत्पादन गर्ने तयारी गरिएको छ ।
काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले यही चैत मसान्तभित्र आयोजना निर्माण सम्पन्न गर्नेगरी २०७९ माघ महिनादेखि काम सुरु गरेको थियो । सिरिजङ्घा गाउँपालिका-५ पेदाङ, वडा ६ मामाङ्खे र वडा ७ खेबाङमा आयोजनास्थल रहेको र यहाँ उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको पाँचथरको हिलिहाङ गाउँपालिकास्थित १३२ केभीए क्षमताको अमरपुर सब–स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जडान हुने छ ।
आयोजनाको कुल लागत भने चार अर्ब २८ करोड ५० लाख एक हजार रुपियाँ रहेको आयोजनाले जनाएको छ। काबेली–३ बाहेक यस क्षेत्रमा मात्र गएको मङ्सिरबाट उत्पादन सुरु भएको १३.५ मेगावाट क्षमताको सुपर काबेली ‘ए’ र भर्खरै उत्पादन भएको १२ मेगावाट क्षमताको सुपर काबेलीसमेत जलविद्युत् आयोजनाको सङ्ख्या तीन पुगेको छ।