जसलाई महिला दिवसले छोएन…

तानसेन (पाल्पा) । बगनासकाली गाउँपालिका–२ घोरबन्दकी सुन्तली कुमालको दिन ज्याला मजदुरीमै बित्ने गर्छ । अकाशिएको महँगीसँगै छोराछोरीको पढाइ खर्च र बिहानबेलुकाको हातमुख जोड्ने जोहो गर्न दैनिक रूपमा काममा निस्कनु उनको बाध्यता हो ।

झिसमिसेमा उठेर घरको काम र त्यसपछि ज्यालादारीमा निस्कनु कुमालको दैनिकी नै हो । बिहान र दिउँसोको चर्को घाममा इँटा, ढुङ्गा, बालुवा र माटोको काममा नै उनको समय बित्ने गर्छ । दैनिक ज्यालादारीमा काम गर्ने र त्यही ज्यालाले बिहानबेलुकाको गर्जो टार्दै आएको उनले बताइन् ।

तानसेनको भगवती टोलमा घर निर्माणका लागि बालुवा उठाउँदै गरेको अवस्थामा भेटिएकी कुमालले भनिन्, “महिला दिवस हामीजस्ता दुःखीका लागि कागलाई बेल पाक्यो, हर्ष न विस्मात । यो त राम्रो कमाउने र रमाउनेका लागि हो ।”

यस्तै डुम्रेकी रमिता विकको पनि उस्तै समस्या छ । तानसेनमा तरकारी र फलफूल बेचेरै उनले दैनिकी गुजारिरहेकी छन् । ‘बिहानै गाउँमा गई तरकारी ल्याएर छोरालाई खाना पकाएर खुवाएपछि म डोको बोकेर निस्कन्छु’ शनिबार नारायणस्थानमा तरकारी बेच्दै गरेको अवस्थामा भेटिएकी उनले भनिन्, ‘दिनभरि बजार डुलाएर तरकारी, फलफूल बेच्छु । त्यही कमाइले छोराको पढाइ खर्च र बिहानबेलुका हातमुख जोड्छु, यो मेरो दैनिकी नै हो ।’

तानसेनको बजारमा भारी बोकेर दैनिकी चलाउँदै आएकी घोरबण्डाकी ४९ वर्षीया मीना कुमाल सधैंजस्तै शनिबार पनि हातमा नाम्लो लिएर काम गर्न निस्किइन् । कुमाल तानसेनका किराना पसलमा भारी बोक्ने काम गर्छिन् । ‘भारी नबोकी खान पुग्दैन । छाक टार्न काम गर्नैपर्छ’ कुमालले भनिन् ।

यस्तै, तानसेन अर्चेलेकी सुमित्रा पुन पनि तानसेनमै ज्याला मजदुरी गर्दै आएकी छन् । कैलाशनगरमा बारी खन्दै गरेको अवस्थामा भेटिएकी उनले अन्तरराष्ट्रिय महिला दिवसबारे सुनेकी नै छैनन् । ‘हामीलाई त कामबारे मात्रै थाहा छ’ उनले भनिन् । महिलाको हक, अधिकारका बारेमा विभिन्न दलहरूको वकालत सुन्दै आएकी पुन जीविकोपार्जनका लागि सानै उमेरदेखि मजदुरी गर्दै आएको बताउँछिन् ।

दिवसका बारेमा आफूलाई पूर्ण रूपमा जानकारी नभएको भन्दै उनी भन्छिन्, ‘महिला दिवसमा सबैले मीठो मसिना खाने र रमाइलो गरेर मनाउँछन् होला, खै हाम्रो त कमाइ केही छैन, के खानु के रमाउनु ? एक दिन काम नगरे साँझ चुलोे बल्दैन ।’

जिल्लामा सयौं महिला मजदुर दैनिक मजदुरी गर्दै आएका छन् । शनिबार देशैभर विभिन्न कार्यक्रम गरी एक सय १५औं अन्तरराष्ट्रिय महिला दिवस मनाइरहँदा जिल्लाका अधिकांश मजदूरी गर्ने महिलालाई भने यसले छोएन ।

श्रमिक महिला सधैंजस्तै भारी बोकिरहेका छन् । एक दिन काम नगर्दा उनीहरूलाई हातमुख जोर्न मुस्किल पर्छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय