भूमि बाहेकका पाँच अध्यादेश आज संसद्मा पेस हुँदै

काठमाडौं । सरकारले भूमि बाहेक पाँच अध्यादेश आज(बुधवार) मध्याह्न १ बजे बस्ने प्रतिनिधिसभामा स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने भएको छ।
पेश गरिएका अध्यादेश पास गर्न सत्ता गठबन्धनका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ। सबै सांसदलाई एसएमएस,फोन र पत्र मार्फत ह्विप जारी गरिएको हो।
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिकोको बैठकले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, र ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ सहित पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको छ।
‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, र ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘सुशासन प्रवर्द्धनसम्बन्धी अध्यादेश, २०८१’ समेत स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय भएको छ।
अध्यादेश पेस हुने कार्यसूची तय भएसँगै कांग्रेस र एमालेले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको हो। यद्यपि सत्ताधारी अन्य सहयोगी दल जसपा,लोसपा,जसपा नेपाल र जनमतले पनि पाँच अध्यादेशमा असहमति जनाएका छैनन्। तर,भुमि सम्बन्धि अध्यादेशमा भने सबैको असहमति छ। यसमा एमाले पुर्ण सहमत भएपनी कांग्रेसकै केही सांसद समेत असन्तुष्ट छन् ।
सरकारले छ वटा अध्यादेश ल्याए पनि जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी विपक्षमा देखिएपछि ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ हाललाई रोकेको छ। यद्यपि बिपक्षी दल फकाएर वा फुटाएर भएपनी सबै अध्यादेश पास गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना अझै बाकी छ।

