डाँडाखर्क घटना : भाउजूको हत्या गरि देवर झुन्डिए !

काठमाडौं । खोटाङको बराहपोखरी गाउँपालिका-१ डाँडाखर्कमा डरलाग्दो घटना घटेको छ। घाँस काट्न गएका देवर-भाउजूको शव भेटिएपछि घटना रहस्यमय बनेको छ।
प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा आफ्नै देवरले भाउजूको हत्या गरेर आफू पनि झुन्डिएको खुलेको छ। मृतक २३ बर्षिय सरिता बिष्ट र २० बर्षिय शिखर बस्नेत नातामा देवर-भाउजु हुन् ।उनीहरुको विवाद के थियो ? हत्या किन गरे ? भन्ने अझै खुल्न बाकी छ । हत्या गर्ने युवकले समेत आत्महत्या गरेपछि कारण खोज्दै प्रहरीले थप अनुसन्धान गरिरहेको छ। मृतकहरुको पोस्टमार्टम रिपोर्ट पनि आउन बाँकी छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार बराहपोखरी स्थित डाँडाखर्कका सरिता विष्ट र शिखर बस्नेत गत बुधबार बिहान घर नजिकैको दारेगौँडा जंगलमा मृत फेला परेका हुन् । सरिताको शव रगताम्मे अवस्थामा भुइँमा र त्यसको केही पर शिखर झुन्डिएको अवस्थामा थिए।
प्रहरीका अनुसार सरिताको घाँटीमा खुकुरीले काटेको चोट थियो। उनको शरीरका अन्य भागमा पनि चोट देखिएको थियो। घाँस काट्न जादा शिखरले खुकुरी बोकेको र सरिताले डोरी नाम्लो बोकेको बुझिएको छ। सरिताको शव नजिकै फेला परेको खुकुरी दाप भित्र भएपनी रगत लागेको अवस्थामा थियो। झुन्डिएको अवस्थामा मृत फेला परेका शिखरको देब्रेहातमा पनि रगत देखिएको तर, त्यो रगत उनको नभै सरिताको भएको देखिन्छ। प्रहरीका अनुसार शिखरको शरीरमा चोट थिएन। शवको प्रकृति हेर्दा सरिताको हत्या गरेर शिखर झुन्डिएको देखिन्छ।
गाउँमा एउटा घरमा विवाह र अर्को घरमा लघु पुराण चलिरहेकोले सबै गाउँले त्यतै ब्यस्त हुँदा सरिता र शिखर भने घाँस काट्न जंगल गएको देखिन्छ्। सरिताका श्रीमान पनि एक महिना अघि नेपाल आएको र उनिपनी लघु पुराणमा गएको देखिन्छ। घरमा एक्लै रहेकी सरिता दिउँसो २ बजेतिर देवर शिखरसँगै घाँस काट्न दारेगौँडा जंगल गएको र राती अबेरसम्म नफर्केपछी खोजी भएको थियो। उनीहरुको शव भोलिपल्ट बिहान ६ बजेतिर जंगलमा भेटिएको थियो।

