अध्यादेश ल्याएर माधव र महन्थको पार्टी फुटाउने सरकारको तयारी

काठमाडौ। सत्ता गठबन्धनमा झन्डै दुई तिहाई बहुमत भएर पनि राष्ट्रिय सभामा केही संख्या नहुदा सरकारले अध्यादेश निर्णयार्थ संसदमा पेश गर्न सकेको छैन।

प्रधानमन्त्री केपी शर्मा ओलीले अब फागुन तेस्रो साता सम्म अध्यादेश पास गरिछाड्ने तयारी स्वरुप गठबन्धनमा अर्को अध्यादेश ल्याउने बारे सहमति जुटाएका छन् । राजनीतिक दल सम्बन्धी ऐन २०७३ लाई अध्यादेशमार्फत संशोधन गरेर माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विभाजन गर्न प्रतिस्थापन विधेयक ल्याउने प्रधानमन्त्रीको तयारी छ। यसमा नेपाली कांग्रेसले समेत ‘ग्रीनसिग्नल’ दिइसकेको एमाले नेताहरूको भनाइ छ।

सरकारले ल्याएको ६ वटा अध्यादेश प्रतिनिधिसभामा बहुमत भए पनि राष्ट्रियसभाको अंकगणितका कारण अघि बढ्न नसकेपछि प्रधानमन्त्री ओली यो तयारीमा लागेको बुझिन्छ । जसका लागी  दल सम्बन्धी ऐन प्रतिस्थापन विधेयक अघि बढाउने निष्कर्षमा कांग्रेस-एमाले दुबै सत्ता सहयात्री दल सहमतिमा पुगेका हुन्।

दल बिभाजन गर्न सजिलो हुनेगरी अध्यादेश ल्याउन प्रधानमन्त्री ओली पहिल्यैदेखि तयारीमा भएपनी उनलाई सुरुमा कांग्रेसले साथ दिएको थिएन। खासगरी कांग्रेस सभापति शेरबहादुर देउवा र माधवकुमार नेपालको सुमधुर सम्बन्धले गर्दा ओलीलाई देउवाको साथ पाउन मुस्किल थियो । दल सम्बन्धी ऐनलाई अध्यादेशबाट संशोधन गरेर समाजवादीसहितका साना दल विभाजन गर्ने प्रधानमन्त्री ओलीको चाहनामा कांग्रेस सहमत नहुँदा राकिएको यो कार्य अब भने गर्नैपर्ने दबाबमा प्रधानमन्त्री छन् ।

यसै बिषयमा शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाले नेताहरूलाई निवासमा बोलाएर छलफल गरेका थिए। यद्यपि छलफलमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने उपस्थित थिएनन् । बैठकमा सभापति देउवाले ‘अब सरकार जोगाउन उक्त विकल्पमा जान तयार हुनुपर्ने भयो’ भनेर कन्भिस गराएपछि सरकारको नेतृत्व गरेको एमाले उत्साही भएको छ।

कांग्रेसको आन्तरिक बैठकमा कुरा मिलेसँगै राति दुई दलका दोस्रा तहका नेताहरु बसेर तत्काल प्रतिस्थापन विधेयक संसदमा दर्ता गर्ने र द्रुतगतिमा पारित गर्ने निर्णयमा पुगेको बुझिएको छ। बैठकमा एमालेबाट महासचिव शंकर पोखरेल, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र एमाले प्रमुख सचेतक महेश बतौला सहभागी थिए भने कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र प्रमुख चेतक श्यामकुमार घिमिरे सहभागी थिए ।

हाल एकीकृत समाजवादीको प्रतिनिधिसभामा १० र राष्टियसभामा ८ जना सांसद छन्। लोसपाका प्रतिनिधिसभामा चार र राष्ट्रिय सभामा एक जना सांसद छन्। एकीकृत समाजवादीका केही सांसद अध्यक्ष नेपालसँग रुष्ट छन् । प्रेम आले,किसान श्रेष्ठ,धनबहादुर बुढा,शेरबहादुर कुवरले पार्टी फुटाउने तयारी गरेको चर्चा छ। लोसपामा शरद सिंह भण्डारीले पार्टी फुटाउने तयारी गरेका छन् । भण्डारी ओली सरकारमा श्रम तथा रोजगार मन्त्री छन् ।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...