तेस्रो आश्रय कपको उपाधी युनाइटेड फेलोसिपले जित्यो

काठमाडौं । तेस्रो आश्रय समूह कप २०८१ को उपाधी युनाइटेड फेलोसिपले जितेको छ।

आयोजक आश्रय समूहलाई पेनाल्टी सुटाआउटमा हराउँदै युनाइटेड फेलोशिपले उपाधी सहित नगद ५० हजार,मेडल,ट्रफी र प्रमाणपत्र पाएको हो। कार्यक्रमका प्रमुख अतिथी गोकर्णेश्वर नगरपालिका प्रमुख दिपककुमार रिसालले बिजेता टोलिलाई पुरस्कार प्रदान गरेका थिए।

हरेक बर्ष आश्रय समूहले आफ्नै फाइभ ए साईड फुटबल ग्राउन्डमा उक्त प्रतियोगिता आयोजना गर्दै आईरहेको छ। लागू औषध दुरुपयोग विरुद्ध सचेतना र ऐक्यबद्ध हुन र “Say No to drugs Say Yes to Sports” भन्ने मुल नाराको साथ आयोजना गरिएको प्रतियोगितामा काठमाडौ र बाहिरी जिल्लाका समेत कुल १३ वटा पुनर्स्थापना केन्द्रहरु सहभागी थिए।

पुरस्कार प्रदान गर्दै मेयर दिपककुमार रिसालले लागू औषध प्रयोगकर्ता राष्ट्र कै जटिल समस्या भएको भन्दै यसको रोकथाम र न्यूनीकरणका लागी गोकर्णेश्वर नगरपालिकाले भूमिका खेलिरहेको बताए। उनले लागू औषध नियन्त्र समिती संयोजक नै नियुक्त गरेर अब चाडै नै ठोस कार्यक्रम ल्याउने प्रतिबद्धता समेत जनाए।

लागू औषध प्रयोगकर्ताहरुलाई समाएर त्यसको लत छुटाउन नगरपालिकाले नगर भित्रका पुनर्स्थापना केन्द्र र प्रहरीको समन्वयमा दुर्व्यसनीहरुलाई नगरपालिकाले नै उपचार दिने,सिपमुलक कार्यक्रम दिने र सक्दो रोजगारी पनि दिलाउने एउटा कार्यक्रमको ढाँचा तयार भैरहेको र सरोकारवाला पक्षसँग सहकार्य समेत गरेर अन्तिम रुप दिइने मेयर रिसालले जानकारी दिए।

प्रतियोगिताको उपविजेता रहेको आयोजकटिम आश्रय समूहले रु २५ हजार नगद सहित मेडल र ट्रफी हासिल गर्यो भने आश्रयको रमेश लिम्बूले उत्कृष्ट खेलाडी (वेष्ट प्लेयर) र युनाईटेड फेलोसिपले उत्कृष्ट गोलरक्षक (बेस्ट किपिङ) को ट्रफी र नगद पुरस्कार हासिल गर्न सफल भयो। कार्यक्रम २ दिन सम्म सुन्दरीजल स्थित आश्रय समूह कै फुटबल ग्राउन्डमा भएको थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय