राप्रपाले सबै प्रदेशमा भण्डाफोर सभा गर्ने

काठमाण्डौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजबाट व्यवस्थाविरुद्ध देशभर भण्डाफोर अभियान सुरु गर्दैछ । त्यसको सुरुवात आज पोखराबाट हुुदैछ।
यो अभियान वर्तमान व्यवस्था, कुशासन र भ्रष्टाचारको भण्डाफोर गर्नका लागि सुरु गरिएको संसदको पाँचौ ठूलो दल राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बताए । उनले पुर्व राजाको बक्तब्यलाई समेत स्वागतयोग्य भनेका छन् ।
राप्रपाले गणतन्त्रतात्मक व्यवस्था खारेज गरी राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापना गर्नुपर्ने मत राख्दै आएको छ । प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिबाट राप्रपा उत्साहित देखिन्छ ।
ज्ञानेन्द्र शाहले जनताको भलोका लागि आफूले राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न चेतावनी दिँदै व्यवस्था बदल्नेबाट नागरिकको अवस्था परिवर्तन हुन नसकेको राजनीतिक दलहरुप्रति कटाक्ष गरेका थिए। लगत्तै राप्रपा सातै प्रदेशका प्रमुख शहरहरुमा भण्डाफोर अभियान थाल्न सक्रिय छ । भण्डाफोर सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले सम्बोधन गर्नेछन् ।
कहाँ कहिले गर्दैछ भण्डाफोर सभा ?
गण्डकी प्रदेशको पोखरामा फागुन ९ गते,
लुम्बिनी प्रदेशको बुटवलमा फागुन १७ गते,
सुदूरपश्चिम प्रदेशको धनगढीमा फागुन १८ गते,
मधेश प्रदेशको जनकपुरमा फागुन २१ गते,
बागमती प्रदेशको काठमाडौंमा फागुन २५ गते र
कर्णाली प्रदेशको सुर्खेतमा फागुन २७ गते ।

