वाकयुद्धमा ओली-प्रचण्ड : दरबारसँग प्रचण्डको सम्बन्ध !

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष ‘प्रचण्ड’ र पुर्व राजा ज्ञानेन्द्र शाहबिचको हिमचिम बारे फेरि कुरा कोट्याएका छन् ।
ओलीले अझै निहुँ खोजे प्रचण्ड र पुर्व राजा ज्ञानेन्द्रबीचको सम्बन्ध र उनीहरुको षड्यन्त्रहरु पर्दाफास गरिदिने चेतावनी समेत दिएका छन् । उनले एमाले-कांग्रेस प्रजातान्त्रिक शक्तिहरुलाई सिध्याएर, सधैंका लागि राजा चाहिन्छ भनेर प्रचण्डले लिखित गरेको समेत आरोप लगाए।
प्रचण्डले २०६० साल पुस १९ गते राति १ बजे दरबारमा गएर तत्कालीन राजा ज्ञानेन्द्रसँग सम्झौता गरेको प्रधानमन्त्री ओलीको दाबी छ । त्यसैले धेरै बकवास नगर्न प्रचण्डलाई ओलीले चेतावनी दिए । बढी बोल्दै गएको खण्डमा षड्यन्त्रहरु पर्दाफास गरिदिने उनको चेतावनी छ । ‘राजतन्त्र सधैं रहने, प्रचण्डलाई शासन बुझाउनुपर्ने, प्रचण्डले राजतन्त्रको रक्षा गर्ने, प्रचण्डले आफ्ना लडाकु राजाको पनि बनाइदिने सम्झौता गरेको होईन ? त्यस्ता निर्लज्ज मान्छेहरुले लोकतन्त्रको हामीलाई दुहाई दिने ? म तथ्यका आधारमा बोलिरहेको छु् । म प्रचण्डजीलाई भन्न चाहन्छु-‘यस्ता वकवास कुरा लाएर नहिँड्नुस्, अरु धेरै उहाँको षड्यन्त्रको पर्दाफास गर्न नपरोस्,’-ओलीले भने ।
प्रचण्डले ले जे पायो त्यही बोल्दै हिँडेको भन्दै प्रधानमन्त्री ओलीले प्रचण्डले विहानै, बेलुकै सरकार ढल्छ भनेर हिँडिरहेको बारे पनि कटाक्ष गरे। ‘सरकार ढल्छ’ भन्ने प्रचण्डको थेगो नै बनिसकेको भन्दै प्रधानमन्त्रीले कांग्रेस र एमालेको वर्तमान समीकरण अझै तीन वर्षसम्म बाँकी रहेकोले विहानै बेलुकै सरकार ढल्ने कुरा नभट्याउन आग्रह गरे ।
‘आजकाल माओवादी नेता प्रचण्डजी धेरै आत्तिनु भएको छ । के भएको हो उहाँलाई ? बोल्ने कुरा पनि बोल्नुहुन्छ, नबोल्ने कुरा पनि बोल्नुहुन्छ । जे पनि बोल्नुहुन्छ । अहिले नै सरकार जान्छ, भरे नै ढल्छ, राति नै ढल्छ भनेकोभन्यै हुनुहुन्छ,’-प्रधानमन्त्रीले भने ।
अर्को प्रशंगमा प्रधानमन्त्रीले गणतन्त्र ल्याउनमा प्रचण्डको कुनै योगदान नै नरहेको दाबी पनि गरे। वर्तमान व्यवस्थाको लागि एमाले र कांग्रेसलगायतका शक्तिहरुले संघर्ष गरिरहेको बेलामा प्रचण्डले तत्कालीन राजा ज्ञानेन्द्रलाई भेटेर सम्झौता गरेको ओलीको आरोप छ । ‘गणतन्त्रका लागि कहिले लडेका थियौ ? राजासँग सम्झौता गरेर, राजासँग साँठगाँठ गरेर सहमति गरेको होईन ?’ ओलीले प्रश्न गरे।

