मानव स्वास्थमा ध्यान दिऔं, कृषिमा विषादीको प्रयोग नगरौं
सम्पादकीय
अहिले बजारमा पाइने हरियो तरकारी तथा फलफूलमा अत्यधिक विषादी पाइने गरेको छ। यो कुनै आवेगमा भनिएको कुरा होइन, तथ्यले सत्य प्रमाणित गरेको कुरा हो। बजारमा पाइने हरियो सागमा समेत विषादी मिसाइएको खबर आइरहेको छ।
तरकारी तथा फलफूललाई ताजा देखाइ राख्न वा आकर्षक देखाउन पनि हरियो रंगको केमिकल प्रयोग हुने गरेको खबर समेत बेलाबेलामा आइरहन्छ। त्यस्तै केही फलफूलमा मैनको प्रयोग हुने कुरा पनि सूनिन्छ । यी सबै तत्वमा बढी अखाद्य वस्तु नै हुने गरेको भेटिएको छ। सरकार तथा उपभोक्ता हितमा संचालित केही संस्थाले गरेको अध्यनले पनि धेरै ठाउँमा विषादी प्रयोग र अखाद्य वस्तु मिसावट पाइने गरेको छ।केहि त्यस्ता उत्पादन र बिक्रीवितरणमा रोक लगाइएको पनि छ।
सरकारले बेलावखत कृषकलाई तालिम वा सेमिनार राखेर बालीमा धेरै विषादी प्रयोग नगर्न आग्रह पनि गर्दै आइरहेको छ। कृषि बालीमा धेरै विषादी प्रयोग गर्दा सुरुमा कृषक स्वयंलाई र त्यसपछि क्रमशः परिवार,टोल,समाज र राष्ट्रलाई नै रोगी बनाउने खतरा हुन्छ। एकातिर छिटो उत्पादन बढाउन र अर्को तिर ताजा र आकर्षक देखाउन प्रयोग गरिने विषादी र केमिकलको प्रयोगलाई निरुत्साहित गर्न सरकारले नै बढी ध्यान दिन जरुरी छ। पहिलो कुरा जनचेतना र दोस्रो कुरा स्वास्थमा पार्ने असरबारे सरकारी तवरबाट नै अभियान चलाउन ढिला नगरौं ।
केही कृषकहरूमा धेरै आम्दानी होस्, एकै पटक आम्दानी होस् र यही वर्ष आम्दानी होस् भन्ने आसमा आवश्यकताभन्दा धेरै विषादी प्रयोग गर्ने बानी नै भैसकेको छ। यसले गर्दा उपभोक्ताको स्वास्थमा खेलबाड मात्रै होइन गम्भीर समस्या सृजना हुने गरेको छ।
तसर्थ, विषादी नियन्त्रणका लागि नेपाल सरकार कृषि मन्त्रालय र सरोकारवाला पक्षले अभियान नै सञ्चालन गर्ने बेला भैसकेको छ।कृषकले खोजेको जस्तो उत्पादन विषादी प्रयोग नगरीकन पनि गर्न सकिन्छ भन्ने विस्वासीलो आधार राज्यले दिन सकेमा र कृषकले केही आम्दानी हुने आसमा गरेको खेतीबाट नाफा नै हुन्छ भन्ने नरहेकाले घाटामा जाँदा सरकारले हेर्छ है भन्ने विश्वास दिलाउन सकेमा यसको नियन्त्रण हुन सघाउ पुग्नेछ।
त्यसैले उत्पादन गर्ने कृषक र बिक्रीवितरण गर्ने ब्यापारीलाई मात्रै दोष देखाउनु भन्दा पनि कृषकहरू कतिपय ठाउँमा रोगका कारणले, रासायनिक मल नपाएका कारणले असन्तुष्ट पनि छन् । उनीहरुको असन्तुष्टिलाई सम्बोधन गर्ने दायित्व राज्यको हो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नाम मात्रैको हुने वा त्यसले कृषकलाई साच्चिकै अनुभूति दिलाउने ? यो पनि मनन गर्नुपर्ने बिषय भएको छ।
विषादी रोकौं,अर्गानिक उत्पादनमा जोड गरौं, दीर्घ जीवनका लागी स्वस्थ बनौं र बनाऔं ।

