माओवादीले ३० औं जनयुद्ध दिवस मनाउँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज विविध कार्यक्रम सहित ३० औं जनयुद्ध दिवस मनाउने भएको छ।

२०५२ साल फागुन १ गते तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरु गरेको थियो। सोही दिनलाई सम्झेर जनयुद्ध दिवस मनाउन लागिएको सो पार्टीले जनाएको छ। जनयुद्ध दिवसको पुर्वसन्ध्यामा हिजो साँझ माओवादी सहायक संगठन वाइसीएलले पार्टी मुख्यालयमा दिपावली समेत गरेको थियो।

त्यसैगरी माओवादीले सबै कमिटीमा केन्द्रको सर्कुलर भन्दै जनयुद्ध दिवस भव्यताका साथ मनाउन मातहतका सबै कमिटीहरुमा बुधबार नै खबर गरेको थियो। माओवादी केन्द्रका मुख्यसचिव गणेशमान पुनले केन्द्रीय निणर्यअनुसार सबै कमिटीलाई जनयुद्ध दिवस भव्यताको साथ मनाउन सर्कुलर पठाएका हुन् ।

माअ‍ोवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा राजपत्र मै सूचना प्रकाशित गरेर जनयुद्ध दिवसमा सार्बजनिक बिदा दिएका थिए। तर, संविधानमा उल्लेख पनि नभएको र अदालतले समेत जनयुद्ध दिवसको बिदाका बारेमा फैसला गरिसकेको अहिले सार्बजनिक बिदा छैन। यद्यपि माओवादीले जितेका केही स्थानीय तहले भने फागुन १ गते जनयुद्ध दिवसमा सार्बजनिक बिदा दिएका छन् । गोरखा,नुवाकोट,रुकुम पश्चिम र धनुषाका केही पालिकाले बिदा दिएको सूचना आएको छ ।

तत्कालिन नेकपा माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र संघर्ष सुरु गरेको भएपनी अहिले त्यसलाई जनयुद्ध कि हिंसा ? भन्ने बहस भैरहेको छ। केही दिन अघि माओवादीका पुर्व नेता हाल एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले पनि जनयुद्ध दिवस मनाउनुको औचित्य नभएको बताएका थिए । उनले जनयुद्ध हिंसा भएको समेत भनेका थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय