आहा ! रारा पोखरा गोल्डकपमा आज २५०औं खेल हुँदै

पोखरा । पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको २४औं संस्करणमा बुधबार एउटा कोशेढुङ्गा पूरा हुँदैछ । पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदै गर्दा यो प्रतियोगिताकै २५०औं खेलका रूपमा रहनेछ ।
क्वाटरफाइनलमा पुलिसले ब्रिगेड ब्वाइज क्लब युके तथा चर्च ब्वाइजले त्रिभुवन आर्मीलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेका थिए । सेमिफाइनल खेल दिउँसो साढे २ बजेदेखि पोखरा रंगशालामा सुरू हुनेछ ।
नेपाल पुलिस क्लबले पनि आज आहरारामा आफ्नो ५०औं खेल खेल्नेछ । यसपछि पुलिस ५०औं खेल खेल्ने दोस्रो क्लब हुनेछ । मनाङ मर्स्याङ्दीले सर्वाधिक ५२ खेल खेलिसकेको छ ।
यसपटक भने मनाङ सहभागी छैन । अहिलेसम्म २३ पटक सहभागी हुँदा पुलिसले ६ पटक उपाधि जितेको छ ।

