धरहरा प्रवेश शुल्कबाट तीन महिनाभित्रै डेढ करोड राजस्व संकलन

काठमाडौं । भूकम्पले भत्काएर पुन:निर्माण गरिएपछि सञ्चालनमा आएको काठमाडौंस्थित धरहराबाट तीन महिनाभित्रै डेढ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
गत मङ्सिर ९ गतेदेखि सञ्चालनमा आएको धरहरा अवलोकन गर्न राखिएको प्रवेश शुल्कबापत रु एक करोड ५२ लाख राजस्व संकलन भएको हो ।
गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको ऐतिहासिक धरहराबाट माघ २४ गते बिहीबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम संकलन भएको हो ।
पछिल्लो समय छिमेकी मुलुकका पर्यटक पनि धरहरा अवलोकन गर्न आउने गरेका छन् । धरहरा चढ्न प्रतिव्यक्ति रु दुई सय शुल्क तोकिएको छ ।
विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । माघ १५ गतेदेखि एक घण्टा समय बढाइएको हो ।
यही माघ १४ गतेसम्म ३ः१५ बजेसम्म मात्र धरहरा चढ्न टिकट काट्ने गरिएको थियो । अहिले समय थप गरी ४ः१५ बजेसम्म टिकट काट्ने पाइने र साँझ ५ बजेसम्म चढ्न पाइने आयोजनाका कायम मुकायम निर्देशक प्रकाश अर्यालले जानकारी दिए ।
प्रत्येक बुधबार धरहरा बन्द रहने भन्दै अन्य दिन यहाँ आउने नागरिकको संख्या दैनिक एक हजार दुई सयको हाराहारीमा रहेको उहाँले जानकारी दिनुभयो ।
धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा रु पाँच हजार तोकिएको छ भने व्यावसायिक भिडिओ छायांकनका लागि प्रतिघण्टा रु पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा रु एक हजार तोकिएको निर्देशक अर्यालले उल्लेख गर्नुभयो ।

