नेसपा (नयाँ शक्ति)को उपाध्यक्षमा युवा व्यवसायी राम घलेले उम्मेदवारी दिने

काठमाडौ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को माघ २७ देखि काठमाडौंमा हुने महाधिवेशनमा युवा व्यवसायी रामबहादुर घलेले समावेशी उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।
धादिङका घले नयाँ शक्ति पार्टीको संस्थापक सदस्य हुन् । पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नयाँ शक्ति घोषणा गर्दा उनी बैकल्पिक राजनीतिमा आकर्षित हुने मध्यका एक हुन् । युवाहरू माझ लोकप्रिय रहेका उनी पर्यटन र आइटी लगायत विविध व्यवसायमा आवद्ध छन् ।
नेसपा(नयाँ शक्ति) को यही माघ २७, २८ र २९ गते काठमाडौँको प्रज्ञा भवनमा महाधिवेशन हुँदैछ। त्यसमा आदिवासी जनजाति कलष्टरको प्रतिनिधित्व गर्दै उपाध्यक्षमा उम्मेदवारी दिने घलेले घोषणा गरेका छन् । उनले आफ्नो उम्मेदवारी किन ? भन्ने बारेमा स्पस्ट पार्दै भावी योजना समेत सार्वजनिक गरेका छन् ।
आफ्नो उम्मेदवारी किन ? भन्दै अघि सारेका घलेका योजनामा गाउँ, नगर, र प्रदेशस्तरमा पार्टीको संरचना विस्तार गर्ने, सक्षम, अनुभवी र शिक्षित युवा, महिला, दलित, जनजाति, र पिछडिएका वर्गलाई पार्टीको मुख्य धारामा सक्रिय रूपमा समेट्ने, युवाका लागि स्टार्टअप, रोजगारी, र नेतृत्व विकासका कार्यक्रम सुरु गर्ने लगायत रहेका छन् ।
घलेले भनेका छन्,-‘विज्ञान र प्रविधि नै वैकल्पिक बाटोमा मोडिसक्यो, आजको ए आई युगमा राजनीतिमा पनि वैकल्पिक शक्तिको उदय आजको आवश्यकता हो। मलाई विश्वास छ, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले नेपालको राजनीतिमा नयाँ विकल्पको रूपमा आफ्नो भूमिका स्थापित गरेरै छोडनेछ। ‘
उनले पार्टीको प्रतिबद्धता ५ ‘स’अनुसार अघि बढ्ने र यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी पूर्ण ईमान्दारी र समर्पणका साथ निर्वाह गर्ने प्रतिबद्धता समेत जनाएका छन् । महाधिवेशनमा आउने प्रतिनिधि बिचमा थप छलफल र सल्लाह गरेर आफ्ना योजनाहरुबारे अझै विस्तृत जानकारी दिने उनले बताए।

