अदालतका अनुसार यी कारणहरूले रविलाई निर्दोष मान्न नमिल्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति एवं पुर्व गृहमन्त्री रवि लामिछानेलाई पछिल्लोपटक चितवन जिल्ला अदालतले पनि धरौटीमा छाडेको छ। उनीसँग अदालतले ५४ लाख रूपैयाँ धरौटी लिएर छाडेको हो।

यस अघि यस्तै मुद्दामा रवि लामिछाने कास्की,काठमाडौं र रुपन्देही जिल्ला अदालतबाट पनि धरौटीमा रिहा भएका थिए। सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते काठमाडौं स्थित पार्टी केन्द्रिय कार्यालयबाट पक्राउ परेका लामिछाने अनुसन्धानको क्रममा ८४ दिन हिरासतमा बसेपछि ६५ लाख धरौटीमा कास्की प्रहरीको हिरासतबाट छुटेका थिए।

त्यसपछि उनी काठमाडौं जिल्लामा ६० लाख धरौटीमा छुटे र रुपन्देहीमा १ करोड धरौटी बुझाए। कास्कीको सुर्यदर्शन सहकारी,काठमाडौंको स्वर्णलक्ष्मी, रुपन्देहीको सुप्रीम र चितवनको साहारा सहकारीको रकम तत्कालीन गोर्खा मिडिया प्रालि मार्फत हिनामिना भएको आरोप उनिमाथी छ। यसैगरी बिरगंजको सानो पाइला सहकारीको पनि मुद्दा  दर्ता हुनेवाला छ।

गितेन्द्रबाबु राई(जिबि राई) अध्यक्ष रहेको गोर्खा मिडियामा रवि लामिछाने १५ प्रतिशत शेयर सहितको प्रबन्ध निर्देशक पनि थिए। सोही मिडियामा यी सबै सहकारीको रकम दुरुपयोग भएको प्रहरीको अनुसन्धानले देखाएको छ। यद्यपि मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनी बाहिरै बसेर यसको प्रतिवाद गर्न पाउने गरी ४ वटा जिल्ला अदालतले उनलाई धरौटीमा छाडेको हो।

आदेश गर्दा सबैतिरका अदालतले विभिन्न तथ्यहरू उल्लेख गरी तत्काल प्राप्त प्रमाणले रविलाई निर्दोष मान्न नसकिने भनेको छ। कास्कीदेखि काठमाडौं,रुपन्देही र चितवन जिल्ला अदालतले एकै प्रकारको मिल्दोजुल्दो आदेश दिएपनी धरौटी रकम भने फरक फरक छ। कास्कीमा ६५ लाख,काठमाडौंमा ६० लाख,रुपन्देहीमा १ करोड र चितवनमा ५४ लाख धरौटी उनले बुझाइसकेका छन् । यी सबै ठाउँमा प्रभु बैंक ग्यारेन्टी बसेर उनलाई धरौटीमा सहज बनाइदिएको छ।

रवि लामिछानेले सबै अदालतमा बयान गर्दा आफू निर्दोष रहेको भनी कसुर इन्कार गरेका छन् । तर, अदालतले भने उनको इन्कारी बयान बाहेकका तथ्य र उनले ‘हो’ भनेर स्वीकार गरेका बिषयलाई समेत आधार मानी ‘अहिले नै कसुरमा संलग्नता नरहेको भनी भन्न सकिने अवस्था नरहेको’ भन्ने कुरा आदेशमा उल्लेख गरेका छन्।

रवि लामिछाने निर्दोष हुन् भन्न नसकिने आदेश गर्दा अदालतले प्रस्तुत गरेका केही आधार सबैठाउमा मिल्दोजुल्दो देखिन्छ। जस्तै-

१. यी प्रतिवादी रवि लामिछानेले यस अदालतमा बयान गर्दा आफू निर्दोष रहेको भनी कसुरमा इन्कार रहेको भए तापनि निजले आफ्नो बयान व्यहोरामा आफू गोर्खा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशक रहेको स्वीकार गरेको,

२. सो कम्पनीमा आफ्नो सेयर रहेको विषयलाई अन्यथा नभनेको,

३. निजले प्रबन्ध निर्देशकको हैसियतबाट चेकमा हस्ताक्षर गरेको भन्ने तथ्यलाई स्वीकार गरेको,

४. त्यसैगरी निज प्रतिवादीले मौकामा अनुसन्धान अधिकारीसमक्ष बयान गर्दासमेत आफू निर्दोष रहेको भनी कसुरमा इन्कार रहे तापनि निजले अनुसन्धान अधिकारी समक्षकै बयानमा आफू गोर्खा मिडिया नेटवर्क प्रालिमा प्रबन्ध निर्देशक रही काम गरेको भनी खुलाएको,

५. आफूलाई सो प्रालिमा १५% सेयर प्राप्त भएको भनी स्वीकार गरेको,

६. कम्पनीका चेकहरूमा आफूले हस्ताक्षर गरी विभिन्न व्यक्ति र संस्थालाई दिएको भनी स्वीकारेको,

७. आफ्नो कार्यकालमा धेरै चेकहरू जारी भएको, ती चेकहरू अध्यक्ष गीतेन्द्रबाबु राईको निर्देशन पालना गरी जारी गरिएको भनी बयानमा उल्लेख गरेको,

८. उनका व्यावसायिक साझेदार एवं निर्देशन दिने गीतेन्द्रबाबु राई समेत मूल मुद्दामा प्रतिवादी रहेको देखिएको।

यस्ता आधार एवं तथ्य उल्लेख गरी अदालतले आदेशमा अगाडि लेखिएको छ, ‘उल्लिखित तत्काल प्राप्त प्रमाणका आधारमा यी प्रतिवादी रवि लामिछानेको दाबीको कसुरमा संलग्नता नरहेको भनी अहिले नै भन्न सकिने अवस्थाको विद्यमानता नरहेकोले पछि मुद्दामा थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी तत्काल निज प्रतिवादीलाई तारेखमा राख्नू। सो दिन नसके कानुनबमोजिम थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाइदिनू।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय