साहारा सहकारी प्रकरण : ८१४ वटा चेक मार्फत रविले गरे ४८ करोड खर्च

काठमाडौं । चितवनको साहारा सहकारीको ४८ करोड ५८ लाख भन्दा बढी रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा आएको र त्यो रकम हिनामिना भएको पाइएको छ।
सोही रकमबाट तत्कालीन प्रवन्ध निर्देशक रवि लामिछानेले ८१४ वटा चेक काटेर श्रीमती निकिता पौडेल सहित ससुरालीको कम्पनीमा समेत भुक्तानी गरेको देखिएको छ। रवि लामिछानेले श्रीमती निकिताको नाममा ४ वटा चेक मार्फत ५९ लाख ३८ हजार २५१ र गोपिकृष्ण मुभिजको नाममा २ वटा चेकमार्फत ८१ लाख २५ हजार भुक्तानी गरेको देखिएको छ। कुन प्रयोजनका लागि भुक्तानी भएको हो भन्ने स्पष्ट छैन।
गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेले आफ्नो पदीय हैसियतमा नै ती चेक काटेर भुक्तानी गरेको कुरा साहारा सहकारीको ठगी सम्बन्धि मुद्दामा रवि समेतलाई विपक्षी बनाएर चितवन जिल्ला अदालतमा दायर गरिएको अभियोग पत्रमा उल्लेख छ ।
अभियोगपत्रमा लेखिएको छ, ‘विपक्ष रवि लामेछाने प्रबन्ध निर्देशक तथा शेयरधनि रहेको गोर्खा मिडिया नेटवर्क प्रालिको बैंक खाताबाट निज रवि लामिछाने समेतको हस्ताक्षरले काटिएको ४ वटा चेक मार्फत निजको श्रीमती निकिता पौडेलको नाममा रु. ५९,३८,२५१ (उनन्साठ्ठी लाख अड्तिस हजार दुई सय एकाउन्न) र गोपिकृष्ण मुभिजको नाममा २ वटा चेकमार्फत रु.८१,२५,००० ( एकासी लाख पच्चीस हजार रुपैयाँ) रकम भुक्तानी दिएको देखिन्छ।’
हाल सहकारी प्रकरणमै ३ जिल्ला (कास्की,काठमाडौं र रुपन्देही)मा २ करोड २५ लाख धरौटीमा छुटेका लामिछाने ०७७ पुस ३० गते प्रबन्ध निर्देशकको रुपमा र सोही वर्षको चैत महिनामा सेयर होल्डरको रुपमा गोर्खा मिडियामा प्रवेश गरेको र ०७९ असार २ मा उक्त प्रालिबाट अलग भएको अभियोगपत्रमा उल्लेख छ ।
तर,रवि लामिछानेले गोर्खा मिडियामा बिताएको समय भन्दा अघि र पछि पनि चेकहरु जारी भएको देखिएको अभियोगपत्रमा उल्लेख छ ।

