माओवादी नेताहरुको जिम्मेवारी हेरफेर

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरुको कार्यविभाजनमा हेरफेर सहित नयाँ जिम्मेवारी तोकेको छ । पार्टी हेडक्वार्टरमा समेत जिम्मेवारी नयाँलाई दिइएको छ।
पार्टीको पदाधिकारी बैठकले नेताहरुको कार्यविभाजन तोकेको प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए । जस अनुसार प्रदेशका इन्चार्ज पनि फेरिएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजि सचिवालय देखि पार्टी कार्यालयको मुख्यसचिव पनि परिवर्तन गरिएको छ।
अध्यक्ष प्रचण्डको सचिवालय प्रमुख यसअघि रमेश मल्ल थिए भने अब गोविन्द आचार्यलाई जिम्मेवारी दिइएको छ। मल्ल पुर्व विद्यार्थी अध्यक्ष हुन् । आचार्य पत्रकार महासंघका पुर्व अध्यक्ष तथा प्रचण्ड प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार थिए।
यसैगरी पार्टी हेडक्वार्टरमा मुख्यसचिव रहेका श्रीराम ढकाल विदेशमा रहेकाले उनको ठाउँमा पुर्व वाइसीएल अध्यक्ष एवं तत्कालीन जनमुक्ति सेनाको डिभिजन कमान्डर गणेशमान पुन ‘रश्मि’ लाई जिम्मेवारी दिइएको छ।
प्रदेशमा पनि नेताहरूको कार्यविभाजन तोकिएको छ। जसमा वाग्मती प्रदेशको इन्चार्ज अग्नि सापकोटालाई हटाएर पार्टी सचीव हितमान शाक्यलाई नयाँ इन्चार्ज तोकिएको छ। हितमान पुर्व विद्यार्थी अध्यक्ष हुन् ।
यसैगरी कोशीको इन्चार्ज हरिबोल गजुरेललाई बनाइएको छ।मधेशमा मातृका यादव,बागमतीमा हितमान शाक्य,गण्डकीमा दिनानाथ शर्मालाई इन्चार्ज बनाइएको छ। शाक्य र शर्मा दुबै बागलुङका नेता हुन् ।
त्यसैगरी लुम्बिनी प्रदेशको इन्चार्ज चक्रपाणि खनाललाई तोकिएको छ। उनी जनमुक्ति सेनाको पुर्व कमिसार हुन् । पार्टीको सचीव रहेका खनाल कपिलवस्तुका नेता हुन् ।
कर्णालीको इन्चार्ज कालीबहादुर मल्ल,सुदूरपश्चिमको इन्चार्ज गिरिराजमणि पोखरेल र विशेष प्रदेश इन्चार्ज जयपुरी घर्तीलाई तोकिएको छ।प्रवासमा सार्क समितिमा लक्ष्मण पन्त,युरोप-अमेरिकामा राम कार्की र एसिया समितिमा पत्रकार ओम शर्मा इन्चार्ज भएका छन् ।

