चौतारा ढालेर कोटीहोमलाई दाउरा !

पोखरा । “जे हुन्छ नेपाल मै हुन्छ” भन्नेहरूका लागि पोखरामा अर्को नयाँ खबर बाहिर आएको छ। त्यो पनि सरकारी निकायकै स्वीकृतिमा। वडा कार्यालयले सूचना निकालेर वर-पिपलको चौतारो काट्न दिएको छ।
अहिले कोटिहोमका लागि भन्दै पोखराका विभिन्न ठाउँमा चौतारा र सयौँ वर्ष पूराना रुखहरु काटेर दाउरा जम्मा गरिएको छ। बैशाखमा फेवाताल किनारमा कोटिहोम हुँदैछ र त्यो दाउरा त्यसैका लागि प्रयोग गरिने छ। तर, अचम्मको कुरा वडा कार्यालयहरुबाट सूचना जारी भएपछि काटिएको ती दाउरा पोखरा महानगरपालिकाले आकस्मिक सूचना जारी गर्दै ती जफत गर्ने जनाएको छ। यो दाउरा काण्डले चर्को रुप लिने देखिन्छ।
आइतबार बसेको महानगर कार्यपालिका बैठकमा रुख काटिएको विषय उठेपछि सबै दाउरा जफत गर्ने निर्णय भएको महानगर स्रोतको भनाइ छ । पोखरा महानगरपालिका अन्तर्गत वडा नम्बर ६, १३, १४ लगायत वडाबाट पूराना रुख र चौताराहरु ढालेर दाउरा जम्मा पारिएको छ। त्यो काममा कोटिहोम आयोजक संस्था मानव सेवा फाउण्डेसनले गरेको हो ।
फेवा किनारको पहिलेको दरबार अहिले नेपाल ट्रष्टको जग्गामा थुपारिएको सबै दाउरा जफत गर्ने निर्णय महानगरले गरेपछि दाउरा काण्ड बाहिर आएको हो। यसअघि चौतारोका रुख काट्न स्वीकृति दिएको भन्दै स्थानीयले बिरोध गर्दा महानगर तथा वडाले नसुनेजस्तो गरेको थियो।
अहिले कार्यपालिका बैठकबाट दाउरा जफतको निर्णय नै गरिएको महानगरका एक प्रतिनिधिले जानकारी दिए। महानगरले सो निर्णय गरेको प्रवक्ता मोति तिम्सिनाले पनि पुष्टि गरेका छन् ।‘कहाँ कति रुख काटिएको छ ? कसले कति काटेको हो ? बुझ्ने छौं,’ प्रवक्ता तिम्सिना भन्छन्, ‘काट्नेलाई पनि कारबाही हुन्छ । वन कार्यालयबाट यसबारे चासो सहित प्रक्रिया अघि बढेको सुनिएको छ।’
पहिले वडाले काट्न अनुमति दिने र पछि बिरोध भएपछि महानगरपालिकाले ‘रुख काट्ने काम तत्काल रोक्न’ भन्दै सार्वजनिक सूचना निकालेको थियो । ती रुखहरु वडा र टोल विकास संस्थाको अनुमति मै काटेको फाउण्डेसनको दाबी छ ।



