वामदेवले मृत्युदण्ड दिइयोस् भनेपछि…

काठमाडौं । नेकपा एकता अभियानका संयोजक तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपालमा समाजवाद निर्माण गर्न नसकिए आफूलाई मृत्युदण्ड दिइयोस् भनेपछि सभामा आश्चर्यको दृश्य सहितको हाँसो देखियो ।
पुर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका गौतमले सभामा बोल्दै माग गरेका हुन् । जबकी नेपालमा मृत्युदण्डको कानुन नभएको कुरा स्वयं पुर्व गृहमन्त्री गौतमलाई पनि छ। राष्ट्रिय सभा बैठकमा आइतवार सम्बोधन गर्ने क्रममा गौतमले यस्ता कुरा गरेपछि सभामा उपस्थित सबै सदस्य हासेका थिए। उनी तत्कालीन अवस्थामा एमाले उपाध्यक्ष रहेकै बेला राष्ट्रपतिबाट मनोनित भएका सांसद हुन् ।
सांसद गौतमले वर्ष नै तोकेर समाजवाद ल्याउन सकिने कुरा किन गरे ? यसको कुनै भेउ पाउन सकिएन। तर,उनी एमाले पार्टीमा फर्कने प्रयास असफल भएपछि समाजवादको यात्रामा छन् ।‘समाजवाद निर्माण गर्नका लागि म आफूलाई दाउमा राख्न चाहान्छु । यदि समाजवाद निर्माण गर्न सकिएन भने मलाई मृत्युदण्ड दिइयोस्’ उनले भने,-‘वर्ष तोकेर समाजवाद निर्माण गर्न सकिएन भने मलाई फाँसीमा चढाए हुन्छ ।’
गौतमले १० वर्षभित्र नेपाललाई युरोपियन स्तरमा लैजान सकिने दावी समेत गरे । वर्षमा १४ खर्ब रुपैयाँ खर्च गरेर समाजवाद ल्याउने आधार आफूसँग रहेको उनको भनाइ थियो । उनले पुँजिवाद अब यहाँभन्दा अगाडि नजाने भन्दै पुँजिवादबाटै नेपालमा समाजवाद आउने पनि बताए ।

