एमालेमा वामदेवलाई ‘नो इन्ट्री’ !

काठमाडौं । नेकपा एकता अभियानका संयोजक वामदेव गौतमलाई एमाले भित्र्याउने तयारीमा ब्रेक लागेपछि अहिले पार्टी भित्रै नोइन्ट्री’ अभियान सुरु भएको  छ।

अहिले वामदेवलाई पार्टीमा भित्र्याउन स्वयं अध्यक्ष केपी शर्मा ओली समेत इच्छुक छैनन् । उनले तत्काल नेकपा एकीकृत समाजवादीमा जानबाट रोक्न मात्रै पार्टीमा बोलाएको रहस्य समेत बाहिर आएको छ। यद्यपि वामदेव अझै एमालेले ‘स्पेस’ दिएर बोलाए हुन्थ्यो भन्ने मै छन् । वामदेवले एमालेले बोलाएन भने ‘खेती गरेर बस्छु’ भन्ने अभिव्यक्ति पनि दिएका छन् ।तर,खेती गर्न उनी किसान होइनन् ! एमालेमा हुँदा अखिल नेपाल किसान महासंघको अध्यक्ष भने वामदेव थिए।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल पनि वामदेवलाई दिने पद आफ्नो भन्दा माथि हुन नहुने पक्षमा छन् । जसले गर्दा वामदेवलाई उपाध्यक्ष मात्रै बनाउन सकिने छ। तर, वामदेव एमालेमा पहिल्यै उपाध्यक्ष थिए। अहिले उनले खोजेको पद सह-अध्यक्ष,वरिष्ठ नेता वा संरक्षक हो । यो कुनैपनी पद एमालेको बिधानमा छैन। त्यसैगरी एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पनि वामदेवलाई एमालेमा ल्याउन वा बोलाउन आवश्यक नभएको बताउँछन् ।

महासचिव शंकर पोख्रेल,उपाध्यक्ष बिष्णु पौडेल,नेताहरू खगराज अधिकारी,महेश बस्नेत र गोकुल बाँसकोटा त वामदेवको नामै सुन्न चाह्दैनन। वामदेवसँग शक्ति पनि छैन र कार्यकर्ता पनि छैनन् भन्दै उनीहरुले वामदेवलाई नोइन्ट्री’ अभियान नै चलाइरहेका छन् ।समाजवादीमा जानबाट रोक्न मात्रै अध्यक्ष केपी शर्मा ओलीले चाल चलेको बुझेर उनीहरु त्यो समयमा नबोल्ने भनेर बसेका थिए। अब समाजवादी वा माओवादी कसैले पनि लैजान खोज्दैनन भनेपछि एमालेमा पनि नोइन्ट्री’ अभियान सफल भएको छ।

वामदेव कहिले माओवादी अध्यक्ष प्रचण्डसँग नजिक कहिले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग नजिक र कहिले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नजिक हुँदा हुँदै अहिले यता न उताको भएका छन् । अहिले उनिमाथी ‘ढुलमुले’ चरीत्र र ‘जता गयो त्यतै भत्काउन’ सक्छन् भन्ने आरोप समेत लाग्न थालेको छ।

त्यसैले गौतमले अब उनको अभियानलाई अगाडि बढाउने अवस्था पनि छैन। उनको एकता अभियानका बहुमत पदाधिकारी माओवादीमा जाने तयारीमा छन् । यसअघि केही नेता एकीकृत समाजवादीमा गएका छन् भने बाकी १/२ जनालाई उनैले एमालेमा जान दिएका छन् । अभियानका महासचिव डिबि कार्की एमालेसँग नजिकिँदै गएको बुझिएको छ।

श्रीमती तुलशा थापा समेत एमालेमै रहेका कारण वामदेवले पनि राजनीतिक ‘सेफ ल्याण्डिङ’ त्यहीँ खोजेका थिए। तर,एमालेले अब ‘नोइन्ट्री’ भनेपछि उनी राजनीतिक रुपमा निष्क्रिय भएर बस्नुको विकल्प छैन। अहिले राष्ट्रिय सभा सदस्य रहेका वामदेवको अब लाभको पद यो भन्दा अर्को पाउने संभावना पनि देखिदैन।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय