माओवादी अध्यक्ष बन्दै जनार्दन !

काठमाडौं। नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथी खुलेआम धावा बोल्ने हिम्मत उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले देखाएका छन् ।

जनयुद्धकालमा मोहन बैद्द ‘किरण’ र बाबुराम भट्टराईले फरक मत राख्दा आत्तिएका प्रचण्डले अनेक तिकडम र शक्ति खर्चेर आफ्नो बहुमत छ भन्दै पेल्ने गर्थे । प्रचण्ड शैलीको बिरोध गर्दा उल्टै पेल्न थालेपछि २०६९ मा मेहन बैद्द,रामबहादुर थापा,देव गुरुङ,नेत्र विक्रम चन्द ‘विप्लव’ र सिपि गजुरेलले पार्टी छाडे । त्यसअघि सम्म प्रचण्ड कहिले बाबुराम त कहिले बैद्दको आड लिएर शक्ति आर्जन गर्दै आफ्ना बिरोधि तह लगाउदै गर्थे।

बैद्दले पार्टी छाडेपछि २०७२ सम्म बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठका बिचमा खेलेर प्रचण्ड शक्तिशाली बन्न खोज्थे। त्यसपछि २०७२ मा बाबुरामले पनि प्रचण्डसँगको ३० बर्षे संगत छुटाउदै पार्टी छाडेर नयाँ शक्ति निर्माणमा लागे। पार्टीमा बैद्द,बाबुराम,विप्लव नभएपछि उनले २०७२ देखि एमाले र कांग्रेससँग ‘उथलपुथल’ को जादु देखाइरहे। एमालेभित्र माधवकुमार नेपाल र केपी ओलीबिचमा पनि प्रचण्ड खेल्न पुगे।

आफू बाँचेसम्म ‘उथलपुथल’ भैरहने बताएका प्रचण्डलाई कांग्रेस र एमाले मिलेर सत्ताबाट बाहिर पुर्‍याए। त्यसपछि पार्टी,कार्यकर्ता,शुभचिन्तक र जनता साथमा हुनुपर्ने रहेछ भन्ने बुझेर पार्टी निर्माणमा जुटेका प्रचण्डलाई अहिले अर्को तनाव थपिएको छ। पार्टी भित्र पुरानै शैलीका साथ आफ्नालाई च्याप्ने र बिरोधिलाई घोक्र्याउने नीति लिएका प्रचण्ड विरुद्ध धावा बोल्ने नेता जनार्दन शर्मा ‘प्रभाकर’ देखिएका छन् ।

हुन त कम्युनिस्ट पार्टीहरूमा ‘दुई लाइन संघर्ष’ नौलो होइन । यो विश्वकै कम्युनिस्टहरुको रोग हो। नेपाली कम्युनिस्टहरू पनि यसबाट अछुतो रहेनन् । निरन्तर दुई लाइन संघर्ष हुँदै टुटफुट र विभाजन सम्म पुगेका कम्युनिस्ट घटकमध्ये प्रचण्ड नेतृत्वको माओवादी पनि एक हो। यो पार्टी २०४७ मा नेकपा (एकता केन्द्र) बनेर जुटेपछी २०५२ मा जनयुद्ध गर्ने कि नगर्ने भन्नेमा फुट्यो। निर्मल लामा,नारायणकाजी श्रेष्ठ,लीलामणि पोख्रेल र अमिक शेरचनहरु जनयुद्धमा गएनन् । प्रचण्ड,मोहन बैद्द,बाबुराम,बादलहरु जनयुद्धमा गए।

१० वर्षे जनयुद्धका दौरानमा पनि यो पार्टीबाट केही नेता बाहिरिए भने केहीले पार्टी भित्रै दुई लाइन संघर्षमा जोड दिएर अघि बढे। प्रचण्डले यसैलाई आफ्नो हतियार बनाएर कहिले बादल त कहिले बाबुराम माथी प्रहार गरिरहे। जनयुद्धकै दौरानमा प्रचण्डले बाबुरामलाई सिध्याउने सम्मको योजना बनाएको भन्ने पनि सुनिन्छ । खासगरी तत्कालीन अवस्थामा दरबारसँगै मिलेर जाने भन्ने प्रचण्ड र दरबारसँग होइन दलहरूसँग (तत्कालीन ७ दल)मिलेर जाने भन्ने बाबुरामको लाइन थियो।

यतिबेला भने बैद्द, बाबुराम,बादल र विप्लवसँग लड्न नपरेको र पार्टी मै भएर पनि नारायणकाजी लाइन कमजोर भएकोमा ‘हाइसन्चो’ मानेका प्रचण्डलाई उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले बलियो धक्का दिएका छन् । पार्टीमा एकल पकड बनाउने योजनासहित पालैपालो दोस्रो तहका नेता लिएर हिँड्ने गरेका प्रचण्डले भर्खरै सम्पन्न अखिल (क्रान्तिकारी)को चुनावबाट भने नसोचेको धक्का ब्यहोरेका छन् ।

जनार्दनले पार्टीको आगामी महाधिवेशनमा टक्कर दिन विद्यार्थीको महाधिवेशनलाई बढी महत्त्व दिएको भन्न थालिएको छ। हुनपनी विद्यार्थी महाधिवेशनमा जनार्दनको अप्रत्याशित शक्ति बढेको देखेपछि ‘हेडक्वार्टर’ मा हल्लिखल्ली मच्चिएको छ। अध्यक्षमा थोरै मतले पराजित भएपनी विद्यार्थी निर्वाचनमा ३३ मध्य जनार्दन पक्षले २२ पदाधिकारी जितेको छ। त्यसमा पनि उपाध्यक्षहरुमा बहुमत, महासचिव,उपमहासचिव र सचीवमा बहुमत अनि कोषाध्यक्ष समेत जनार्दन पक्षले जितेको छ।

विद्यार्थी चुनावमा पाएको सफलतालाई लिएर जनार्दन पक्षले कलङ्कीको एक ब्याङ्केटमा ‘सक्सेस पार्टी’ समेत गरिसकेका छन् । जहाँ जनार्दन ३ घन्टा विद्यार्थी नेताहरूसँगै थिए। त्यतिबेला जनार्दनले हेडक्वर्टर अब यहि शक्ति भएको भन्दै पार्टीको महाधिवेशनमा आफुले पनि पार्टी अध्यक्षमा टक्कर दिन तयार रहेको जनाउ दिएका थिए। जनार्दनले अध्यक्ष लड्ने संकेत यस अघि ८ औं महाधिवेशनमा समेत गरेका थिए तर,अनुकुलता भएन।

यतिबेला भने जनार्दन शर्मालाई माओवादी नेताहरू सुदन किराँती,अमनलाल मोदी,कर्णालीका पुर्व मुख्यमन्त्रीद्वय महेन्द्रबहादुर शाही र राजकुमार शर्मा,खगराज भट्ट, पुर्व विद्यार्थी अध्यक्ष रन्जित तामाङ, अनिल शर्मा,वाइसीएल अध्यक्ष सुबोध सिरपाइली,ओम शर्मा लगायतले दर्हो समर्थन गरेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय