विद्यार्थीसँग बाबुरामले भने-‘बेइमानहरूबाट म ठगिएँ,तपाईंहरु बच्नुहोस्’

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का संयोजक डा.बाबुराम भट्टराईले राजनीतिक बेइमानहरुसँग आफू पटकपटक ठगिएको खुलासा गरेका छन् ।

पार्टी निकट विद्यार्थी संगठन नेपाल समाजवादी विद्यार्थी युनियनको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्न पुगेका डा.भट्टराईले विद्यार्थीहरुसँग भने-,’पुराना राजनीतिक दलहरू सुध्रिने अवस्था छैन,त्यसैले उनिहरूसँग एकता र सहकार्य गर्ने सम्भावना पनि छैन । अब वैकल्पिक नयाँ शक्तिहरूसँग सहकार्य गरेर मुलुकलाई विकल्प दिनुपर्छ।’

पुर्व प्रधानमन्त्री भट्टराईले बेपत्ता पारिएका परिवारलाई न्याय दिन माओवादी केन्द्रसँग सहकार्य गरिएको भए पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूलाई नै सिद्ध्याउने षड्यन्त्रमा लागेको भन्दै प्रचण्डसँग सहकार्य गरेर गल्ती नगरेको भए पनि बेइमानहरूबाट ठगिएको बताए।

उनले आफू बेइमानहरुबाट ठगिएको भएपनी बैकल्पिक शक्ति निर्माणका निम्ति अझै नथाकेको जिकिर समेत गरे। अब युवाहरूले राजनीति गर्नुपर्नेमा जोड दिँदै उनले समयानुकूल राजनीति गर्न युवाहरूलाई आग्रह गरे । उनको जोड पुराना शक्तिसँग होइन नयाँ बैकल्पिक शक्तिसँग सहकार्य गर्नुपर्ने मै केन्द्रित थियो।

डा.भट्टराईले केही मधेसवादी र क्षेत्रीय दलहरू आन्दोलनबाट आएको हुनाले सहकार्य गरिएको भए पनि अब त्यहाँ पनि सहकार्यको कुनै सम्भावना नरहेको समेत बताए। वर्तमान व्यवस्था र संविधानको रक्षाका लागि विगतमा पटक पटक अन्य दलहरूसँग सहकार्य गरे पनि उपयोगी नभएको तितो यथार्थ आफुसँग रहेको उनले विद्यार्थीलाई सुनाए।

‘हामीले जुन वैकल्पिक शक्ति निर्माण गरेका छौँ । त्यसमा केही बाङ्गो टिंगो जस्तो त भयो । हामीले बेइमानहरूसँग सहकार्य गरेर ठगिएका मात्र हौँ हामीले अरू केही गल्ती गरेका होइनौँ र सिद्धान्त र विचार छोडका पनि होइनौँ’-उनले भने,-‘खालि के हो भनेदेखि संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि शान्ति प्रक्रियाका केही कामहरू बाँकी पनि छन् । राजावादीहरूले त्यसलाई मन पराएका छैनन् । अर्को हाम्रो ठुलो छिमेकीले हाम्रो संविधानलाई स्वीकार पनि गरेको छैन । यस्तो बेलामा हामी भित्रै गडबडी भइरह्यो भने यही पनि गुम्छ कि भनेर तिनलाई साथ दिएको हो । तर हामीले एकता भनेका छैनौँ।’

उनले आफुहरुले पुरानो पार्टीहरुसँग मिल्ने कुरा पनि नगरेको र अब त्यो संभव पनि नभएको स्पष्ट पारे।‘बाबुराम भट्टराईले पुराना पार्टीहरूसँग मिल्ने कहिले भनेकै छैन । सहकार्य गरेको हो, त्यो पनि आन्दोलनबाट आएको हुनाले सहकार्य गरिएको हो। माओवादी आन्दोलनका नेतालाई त म राम्रोसँग चिन्छु । त्यहाभित्र भएको सङ्कट तपाईँले देख्नुभएकै छ । जति छोपे पनि बिरालोले म्याउँ गरिहाल्छ । प्रचण्डले बेला बेला म्याउँ गरिराख्नुभएको छ । बेपत्ता परिवारलाई न्याय दिनको लागि उहाँहरूसँग हामीले सहकार्य गरेका हौँ । तर उनीहरू हामीलाई सिद्ध्याउने षड्यन्त्रतिर लागे त्यस कारण त्यो कुरा सफल नभएको हो ।’

उनले आफ्ना विद्यार्थीलाई सचेत गराउदै अगाडी भने-‘अहिले हामी कतै गएका छैनौँ । जानेवाला पनि छैनौँ । पुरानाहरूसँगको सहकार्य सफल र उपयोगी भएन । यसबाट पाठ सिकेर पुरानाहरू सुध्रिने र सहकार्य गर्ने सम्भावना रहेन । वैकल्पिक नयाँ शक्तिहरूसँग सहकार्य गरेर देशलाई विकल्प दिनुपर्छ भन्ने हाम्रो पछिल्लो निष्कर्ष हो ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय