उद्योगी,व्यवसायीको मर्का कांग्रेसले मात्रै बुझ्नसक्छ: कांग्रेस नेतृ उर्मिला

काठमाडौं । नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले माघ १६ र १७ गते नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने भएको छ ।
पार्टी केन्द्रिय सदस्य उर्मिला थपलिया नेतृत्वको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले सम्मेलन बारे पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ। सम्मेलनले नेपालको उद्यमशीलता क्षेत्रमा नयाँ ऊर्जा सिर्जना गर्ने र देशको आर्थिक रुपान्तरणमा योगदान पुर्याउने उद्देश्य राखेको छ। नेपाली कांग्रेस केन्द्रिय कार्यालय सानेपामा २ दिनसम्म सम्मेलन हुनेछ।
संयोजक उर्मिला थपलियाका अनुसार सम्मेलनमा अर्थ,ब्यापार र उद्योगसँग सम्बन्धित विभिन्न ब्यक्तित्वले धारणा राख्ने छन् । त्यसैगरी उद्योग, उद्यमशीलता क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुको सम्मेलनमा सहभागिता रहने छ ।‘नवप्रवर्तन र उद्यमशीलतामार्फत आर्थिक रुपान्तरण गर्न, स्टार्टअपमा लगानीका अवसर र चुनौतीको विश्लेषण गर्न तथा महिलाहरु र युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्न नीति सुधारको पैरवी गर्ने उद्देश्यका साथ यो सम्मेलन गर्दैछौं’- कांग्रेस केन्द्रिय सदस्य एवं उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागकी संयोजक थपलियाले भनीन् ।
उनले देशभरका उद्यमी, व्यवसायी एवम् नव उद्यमीहरूका समग्र समस्याहरूको सम्बोधन गर्न काँग्रेसले विशेष अभियान सुरु गर्ने पनि बताइन् । देशका उद्यमी व्यवसायीहरुको समस्याको सम्बोधन कांग्रेसले मात्र गर्न सक्ने उनको भनाइ थियो। उनले साना तथा मझौला व्यवसायीहरूका थुप्रै समस्याहरू रहेकाले त्यसको सम्बोधन गर्न काँग्रेसले मात्रै सक्छ भन्ने सन्देश दिनुपर्नेमा समेत जोड दिइन् ।
उनले व्यवसायीलाई दर्तादेखी संचालनसम्म समस्याहरु रहेको र त्यसमा नेपाली कांग्रेसले नै व्यवसायीका मुद्दा र समस्या बुझ्छ भन्ने शन्देश यो सम्मेलनले दिने बताइन् ।‘जति साना तथा मझौला व्यवसायहरू दर्ता भए त्यसमध्ये ३० प्रतिशत व्यवसायहरू मात्र अहिले सफल भएका छन् भन्ने सूनिन्छ । व्यवसायहरू दर्ता प्रणालीदेखि करमा समेत समस्या र झन्झटिलो अवस्था छ । यस्ता धेरै समस्याहरू निति निर्माण तहबाट नै हल गर्नुपर्छ र त्यसका लागि नेताले नै पिर मर्का बुझ्नुपर्छ भनेर नै अन्तरक्रिया सहितको सम्मेलन आयोजना गर्न तत्पर भएका हौँ,’-केन्द्रिय सदस्य थपलियाले भनिन् ।
सम्मेलनमा ८० भन्दा बढी स्टल रहने र ६ हजार भन्दा बढी सहभागीहरु रहने आयोजकले जनाएको छ । सम्मेलनको माघ १६ गते बिहान ९ बजे पार्टी कार्यालय परिसर सानेपामा पार्टी केन्द्रिय सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् ।

