तराईमा शीतलहर,जनजीवन कष्टकर
काठमाडौं । काठमाडौं लगायत पहाडी जिल्लामा चर्को घामसँगै गर्मी बढ्न थालेपनी कोसी र मधेसको पूर्वी क्षेत्रमा शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गइरहेको छ।

यतिबेला पूरै तराईमा हुस्सु र कुहिरोले ढपक्कै ढाकेका कारण स्थानीयको दैनिकीमा असर परेको छ। तराईका केही जिल्लामा घाम नलाग्दा मानिसहरु चिसोले कठ्याङ्रीएका छन् । तराईका केही विमानस्थलमा नियमित उडान समेत हुन सकेको छैन। बिराटनगर,राजविराज,जनकपुर, सिमरा र नेपालगन्जमा उडान गर्न कठिन भैरहेको छ।

शनिबार बिहान पनि मधेस प्रदेशको पूर्वी भूभाग तथा कोसी प्रदेशको तराई भूभागमा मन्द शीतलहर चलिरहेको छ। बाँकी तराईका धेरै स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ। देशका पहाडी र हिमाली भूभागको मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागले २ दिनदेखि देशका तराई क्षेत्रमा दिनभर नै हुस्सु र कुहिरो लागिरहेको र यो क्रम माघ १३ गते (आइतबार) सम्म जारी रहने सम्भावना देखिएको जनाएको छ। घाम नलागेर दिनभरिनै शीतलहर र हुस्सु/कुहिरोको कारण चिसो बढ्दा तराई मधेसको जनजीवन कष्टकर बनेको छ।
विभागले विशेष बुलेटिन मार्फत मधेस र कोसीमा मन्द शीतलहर रहेकाले १३ गतेसम्म सतर्क रहनू भनेको छ। विभागले शीतलहरसम्बन्धी विशेष बुलेटिन जारी गरी माघ ९ गतेदेखि कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा दिनभरि हुस्सु र कुहिरो लागिरहेको जानकारी दिएको छ।
महाशाखाले आज बिहान छ बजे जारी गरेको बुलेटिनमा भनिएको छ, ‘मधेश प्रदेशको पूर्वी भूभाग (सप्तरी) तथा कोसी प्रदेशको तराई भूभाग (झापा, मोरङ र सुनसरी) मा अहिले मन्द शीतलहरको अवस्था रहेको र बाँकी तराईका धेरै स्थानमा पनि हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, शिक्षा, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’