प्रेमीलाई अविवाहित हुँ भन्ने देखाउन दुई छोरीको हत्या
काठमाडौं । सल्यानमा आफ्नै जन्मदिने आमाले दुई छोरीको हत्या प्रेमीलाई ‘अविवाहित हुँ’ भन्ने देखाउन गरिएको रहस्य खुलेको छ।

जिल्लाको वनगाड कुपिन्डे नगरपालिका-११ की २६ वर्षीया पूर्णिमा राना मगरले पुस २४ गते आफ्ना दुई छोरीको हत्या गरेकी थिइन्। उनले घरभित्रै आफ्ना ३ वर्ष र ६ महिनाकी छोरीहरूको घाँटी थिचेर हत्या गरेपछि अहिले त्यसको थप रहस्य खुलेको हो।

सल्यानका प्रहरीले गरेको अनुसन्धानबाट पूर्णिमा एक युवकसँग प्रेम सम्बन्धमा रहेको र उनले आफू अविवाहित हुँ भन्दै आएकी थिइन्। त्यसपछि प्रेमीलाई अविवाहित देखाउन छोरीहरूको हत्या गरेको बुझिएको छ। छोरीहरू मारेपछी उनै प्रेमीसँगै बिहे गर्ने पुर्णिामाको योजना रहेको समेत तथ्य भेटिएको छ।
पुर्णिामालाई आफ्नो बिहे भैसकेको र छोरीहरू पनि छन् भन्ने कुरा प्रेमीलाई थाहा नहोस् भन्ने थियो। त्यसैले घरमै छोरीहरू मारेर उनी दोस्रो बिहेको तयारीमा रहेको पनि खुलेको छ। प्रहरी अनुसन्धानबाट पूर्णिमा ६ महिना अघिदेखि भारतमा बस्ने सल्यान कै एक युवकसँग प्रेम सम्बन्धमा रहेको पनि खुलेको छ। उनीहरूको चिनजान सामाजिक सञ्जाल फेसबुक मार्फत भएको थियो। त्यसमा पुर्णिामाले आफू अविवाहित रहेको बताएकी थिइन् ।
पूर्णिमाका श्रीमान टेकबहादुर मगर ज्याला-मजदुरीका लागि टाढा टाढासम्म गइरहन्थे। त्यसदिन पनि उनका श्रीमान कामको लागि नुवाकोट पुगेका थिए। दुई छोरीको हत्याको खबर पाएपछि मात्रै टेकबहादुरलाई घरमा झिकाइएको थियो। सुरुमा छोरीहरू मृत भेटिएको मात्रै भनिएको थियो । हत्याको रहस्य पछि खुलेको हो।
प्रहरीका अनुसार पूर्णिमासँग प्रेम सम्बन्ध रहेका युवा सल्यान शारदा नगरपालिकाकै हुन् ।युवक भने अविवाहित नै रहेको बुझिएको छ। प्रहरीले ती युवकलाई पूर्णिमाले आफ्नो बिहे भएकोबारे नखुलाएको र उनीहरू प्रत्यक्ष भेटघाट समेत भैनसकेको भनेको छ। तर उनीहरूले बिहे गर्ने योजना भने दुबैले बनाएका थिए। उनीहरूबीच दिनहुँ भिडिओ कुराकानी भैरहने र पुर्णिामाका छोरीपनी देखेका थिए। तर,पुर्णिामाले ती दुबै छोरी आफ्नो दिदीका छोरी भनेर ढाँटेकी थिइन्।
घटना घट्नुको कारण चाहिँ जब बिहे गर्न भन्दै पुसको दोस्रो साता युवक भारतबाट कोसेली सहित गाउँ फर्किए। नजिकै गाउँमा घर भएकाले उनीहरुको भेट्ने योजना पनि बन्यो । त्यसपछि युवक भेट्नु अघि पुर्णिामाले दुई छोरीको पालैपालो घाँटी थिचेर हत्या गरेको साबिती बयान दिएपछि रहस्य पत्तालागेको हो।
हाल टेकबहादुरले नै श्रीमती पूर्णिमा विरूद्ध दुई छोरीको हत्याको कर्तव्य ज्यान सम्बन्धी किटानी जाहेरी दिएका छन्।