एमालेको बिधान महाधिवेशन ०८२ भदौमा
काठमाडौं ।सत्तारुढ नेकपा एमालेले आगामी २०८२ साल भदौमा बिधान महाधिवेशन गर्ने भएको छ। मंगलबार बसेको केन्द्रिय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि महासचिव शंकर पोख्रेलले दिएको जानकारी अनुसार पार्टीको विधान महाधिवेशन २०८२ साल भाद्र २०-२२ मा ललितपुरको गोदावरी सनराइज हलमा आयोजना गर्ने निर्णय भएको छ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमसँग सहकार्य गर्ने निर्णय पनि बैठकले गरेको छ। पार्टीका पुर्व उपाध्यक्ष गौतम एमाले प्रवेशको मुडमा रहेपनी उनलाई पार्टीमा स्वागत गर्ने वा अहिले सहकार्य मात्रै गर्ने भन्ने एमालेले स्पस्ट गरेको छैन।
एमाले केन्द्रीय सचिवालयको बैठकपछि महासचिव पोखरेलले सार्वजनिक गरेका निर्णय मध्य चौथो नम्बरमा भनिएको छ, ‘वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने।’
गौतमले आफू एमालेमा फर्किने तयारीमा रहेको बताइरहेका बेला एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको हो। नेकपा एकीकृत समाजवादीमा जान ठिक्क परेका गौतमले एक्कासी निर्णय परिवर्तन गरि एमाले भित्रीन तयार भएका थिए।
सचिवालयको ४४औँ बैठकले माघ, फागुन र चैत्र महिनामा वडाकेन्द्रित अभियान प्रभावकारी ढंगले सञ्चालन गर्ने निर्णय समेत गरेको छ। अभियानमा सम्पूर्ण पार्टी पंक्तिको परिचालनको योजना प्रदेश र जिल्ला कमिटीले बनाउने भनिएको छ।
त्यस्तै अनुमोदन गर्न बाँकी रहेका गण्डकी, कर्णाली र सम्पर्क समन्वय कमिटीले गरेको प्रदेश कमिटी सदस्यको मनोनयनलाई अनुमोदन गर्ने निर्णय पनि एमाले बैठकले गरेको महासचिव पोख्रेलद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ।