सुप्रिम सहकारी प्रकरण :रवि लामिछाने विरुद्ध मुद्दा दर्ता हुँदै

काठमाडौं । पोखराको सुर्यदर्शन सहकारी र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा धरौटी राखेर थुनामुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध बुटवलको सुप्रिम सहकारी ठगीमा पनि अभियोग दर्ता हुने भएको छ।

रवि लामिछाने पोखरामा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर दुई दिन अघि काठमाडौंबाट थुनामुक्त भएका थिए। उनी सहित केहिको बिरुद्ध आज रुपन्देहीमा अभियोग दर्ता हुनेछ।यस अघि १७ जनाविरुद्ध थप अभियोग दर्ता भएको छ।

जीबी भन्ने गितेन्द्रबाबु राईसहित २८ जनाविरुद्ध यसअघि नै अभियोग दर्ता भएपनि यी मध्ये १७ जनाविरुद्ध कसुर र बिगो बढाएर थप अभियोग दर्ता गरिएको हो। सहकारीको मुख्य हिस्सेदार र ठगीको योजनाकार भनिएका जिबि राई हाल फरार छन् । उनी मलेसियामा रहेको पुष्टि भएपनी सरकारी संयन्त्रले नेपाल ल्याउन सकिरहेको छैन।

सुप्रीम सहकारी प्रकरणमा यसअघि नै प्रतिवादी बनाइएका जिबी राई, ओम प्रकाश गुरुङ, सागर केसी र दिनेश रोकासहित १७ प्रतिवादीविरुद्ध संगठित अपराधमा पनि अभियोग लगाइएको छ।

त्यसैगरी सरकारी वकिल कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहितका थप प्रतिवादीविरुद्ध पूरक अभियोग आज(शुक्रबार)मात्रै अदालतमा लैजाने भएको छ। त्यसपछि संभवत आइतबार रवि लामिछाने रुपन्देही अदालतमा उपस्थित हुनुपर्नेछ। कास्कीबाट छुट्दा २ दिन घरमा बसेपनी काठमाडौंमा पुनः हिरासत बस्नुपरेको थियो। अब रुपन्देहीमा पनि थुनछेक बहस हुनेछ र आदेश अनुसार हुनेछ।

रुपन्देहीबाट जस्तो आदेश आएपनी रविको अझै चितवनको साहारा र पर्साका सानोपाइला सहकारीमा पनि मुद्दा चलाउने तयारी छ। ती दुवै जिल्लाका प्रहरीले अनुसन्धान अन्तिम चरणमा पुर्‍याएका छन्। अबको केही दिनमा त्यहाँ पनि अभियोग दर्ता हुनेछ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय