सरकार गलत बाटो हिंड्न् थाल्यो-शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मध्यरातमा अध्यादेश ल्याउन जरुरी नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गलत बाटोमा हिड्न खोजिरहेको टिप्पणी गरेका छन् ।
नेपाली जनसम्पर्क समिति बेलायतद्वारा लण्डनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्ला केही गतिविधिले सरकार निरङ्कुशतातिर अगाडि बढ्न खोजेको संकेत गरेको पनि उनले बताए।

संसद् अधिवेशन आह्वान गरेर विधेयक अगाडि बढाउनुपर्नेमा सरकारले धमाधम अध्यादेश ल्याइरहेको भन्दै डा.कोइरालाले यसले कांग्रेसलाई अप्ठ्यारो पारिरहेको दाबी गरे । नेता कोइरालाले अहिले अध्यादेश ल्याउनुपर्ने जरुरत नै नरहेको समेत टिप्पणी गरे।

साथै, उनले प्रधानमन्त्री ओलीले २०८७ सालमा मात्रै संविधान संशोधन हुन्छ भनेर हाँस्यास्पद अभिव्यक्ति दिएको पनि उनको भनाइ थियो।कोइरालाले एमाले-कांग्रेसले मात्रै नभएर माओवादी केन्द्रलाई पनि साथमै लिएर संविधान संशोधनका लागि अगाडि बढ्नुपर्नेमा जोड दिए।
कांग्रेस-एमालेबीच भएको सात बुँदे सहमतिको मूल मर्म नै संविधान संशोधन रहेको भन्दै कोइरालाले भने, ‘त्यो अध्यादेश ल्याएर कांग्रेसलाई अप्ठ्यारो पारिदिन खोजियो, किनभने हामी त लोकतान्त्रिक पार्टी हौं।’