भिम रावलको कारबाही फिर्ता गरि पार्टीमा फर्काउन एमाले भित्रै दबाब

काठमाडौं । पार्टीको महाधिवेशनमा केपी शर्मा ओलीका विरुद्ध अध्यक्षमा प्रत्याशी बनेदेखी नै किनारा लगाइएका नेता भिम रावलको निष्काशनलाई लिएर एमाले भित्र बहस सुरु भएको छ।

पुर्व उपाध्यक्ष डा.भीम रावलको कारबाही फुकुवा हुनुपर्ने र उनलाई पार्टी मै फर्किने वातावरण बनाउनुपर्छ भन्ने आवाज समेत बाहिर आएको छ। पार्टी उपाध्यक्ष युवराज ज्ञवालीले भिम रावल पार्टी बाहिर रहदा ‘मन खुशी छैन’ भनेर प्रतिक्रिया दिदैगर्दा एमाले सुदूरपश्चिमका नेताहरूले बैठकमै रावलको पक्ष लिएका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठकमा रावलमाथिको कारबाही फुकुवा हुनुपर्नेमा धेरैले जोड दिएका थिए।

कैलालीको धनगढीमा सम्पन्न प्रदेश कमिटीको पाँचौँ पूर्ण बैठकमा धारणा राख्ने अधिकांश नेताहरूले रावलमाथिको कारबाहीको विषय चर्को रुपमा उठाएको बुझिएको छ। सुदुरपश्चिममा रावलको राम्रो पकड छ। गत निर्वाचनमा समेत रावलले टिकट नपाउदा एमालेलाई क्षती भएको नेताहरूको भनाइ थियो।

कैलाली,कंचनपुर,डडेल्धुरा,डोटी,अछाम,बैतडी लगायत जिल्लामा रावलको प्रभाव छ। उनी माथी कारबाही गर्दा भविश्यमा एमाले पार्टीलाई अझै ठूलो क्षति पुग्ने भएकाले फुकुवा गरेर पार्टीमा सक्रिय गराउनुपर्नेमा नेताहरूको जोड थियो। उनीहरुले रावलको कारबाही पछि धेरै नेताकार्यकर्तामा निराशा छाएको समेत बताएका थिए।

बैठकमा बोल्ने टोलि नेताहरूले रावल माथिको कारबाही फुकुवा हुनुपर्ने कुरामै आफ्ना धारणा राखेको तर, उपस्थित केन्द्रिय नेताले रावलले नै अब एमाले फर्किन नचाहेको भनेर अल्मलाउन खोजेको एक सहभागीले बताए। एमाले सुदूरपश्चिम प्रदेश कमिटी उपसचिव नरबहादुर विश्वकर्माले त बैठकमै रावलमाथिको कारबाहीले राम्रो सन्देश नगएकाले प्रदेशमा पार्टीलाई धक्का लाग्ने भन्दै ध्यानाकर्षण गराएका थिए।‘पार्टीभित्र फरक मत राख्न पाइन्छ। नेतृत्वविरुद्ध बोल्यो भन्दैमा कारबाही गर्नुहुँदैनथ्यो’-उनको भनाइ थियो,-‘भिम रावल जतिको नेतालाई पार्टीबाट निकालेपछि पार्टीलाई धक्का लाग्छ।’

यसैगरी एमाले डोटीकी अध्यक्ष मञ्जु मलासीले पनि मिसन ०८४ अभियानमा लागेको बेला पार्टीमा मान्छे जोड्नुपर्नेमा भिम रावल जस्तो नेतालाई नै पार्टीबाट निस्कासित गर्दा राम्रो सन्देश नगएको बताइन् ।

त्यस्तै एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य भीमबहादुर देउवाले रावललाई निस्कासित गर्ने निर्णयमा पुनर्विचार गर्न नेतृत्वलाई सुझाव दिएका थिए।

तर, बैठकमा उपस्थित एमाले केन्द्रीय सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले रावलले पनि अब पार्टी नेतृत्वसँग छलफल नै नगर्ने भनेकोले प्रयास गर्दा पनि सफल हुननसकेको प्रतिक्रिया दिएका थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय