श्रीमानसँग झगडा परेपछि आमाले गरिन् २ छोरीको हत्या !

काठमाडौं। सल्यानमा दुईजना नाबालिका घरभित्रै मृत भेटिएको प्रकरणमा प्रहरीले आमालाई पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानमा आमाले नै २ छोरीको हत्या गरेको देखिएको छ।
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका- ११ गलगौल (सिस्नेपातल) का ३ वर्षीया करिश्मा राना र ६ महिने नाबालिका राघवी राना मृत भेटिएका थिए। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी बाबुराम बस्नेतका अनुसार उनीहरुको हत्या भएको प्रारम्भिक निश्कर्ष छ ।
बुधबार बिहान ती दिदीबहिनीसँगै आमा पूर्णिमा राना पनि घरमै थिइन् । यही प्रकरणमा प्रहरीले आमालाई हिरासतमा लिएको हो। दुई छोरीका बुवा टेकमान राना कामका लागि हाल नुवाकोटमा रहेको बुझिएको छ।
घटना शंकास्पद देखिएपछि प्रहरीले आमा पूर्णिमालाई नियन्त्रणमा लिएको थियो । दुई छोरी हत्या आरोपमा नियन्त्रणमा लिएपछि प्रहरीले पूर्णिमासँग सोधपुछ गरेको थियो । सोधपुछका क्रममा २६ वर्षीया पूर्णिमाले दुवै छोरीको हत्या गरेको स्वीकारेको प्रहरीलाई उधृत गर्दै स्थानीयले बताएका छन् ।
पूर्णिमाले दुवै छोरीका गला दबाएर ज्यान लिएको बयान प्रहरीलाई दिएकी छन् । दुवै छोरीको शव झुन्डिएर ज्यान गए जस्ता देखिएको स्थानीयको भनाइ छ।यद्यपि घटनाको विस्तृत विवरण खुल्न बाकी छ।
पूर्णिमामा कुनै मानसिक समस्या भने देखिएको छैन । तर प्रहरीसँगको बयानमा उनले नुवाकोटमा रहेका पतिसँग बुधबार बिहान १० बजेतिर फोनमा झगडा परेपछि त्यही रिसमा छोरीहरूको ज्यान लिएको बताएकी छन् ।
मृत भेटिएका दुवै बालिकाको शव पोस्टमार्टमका लागि बुधबार नै जिल्ला अस्पताल लगिएको र बालिकाका बुवालाई पनि प्रहरीले नुवाकोटबाट झिकाइसकेको छ।

