‘शिक्षासँगै सीप’ अन्तर्गत बालकुमारीका विद्यार्थीले गरे बेकिङ प्रदर्शनी

काठमाडौं । बालकुमारी माध्यमिक विद्यालय बुढानिलकण्ठ-१२ मा रमाइलो शुक्रबार अन्तर्गत विद्यार्थीहरुले आफैंले बनाएको बेकरी परिकार सहित ‘बेकिङ प्रदर्शनी’ गरेका छन् ।
काठमाडौं महानगरपालिका-६ बौद्ध स्थित मिराज ईन्स्टिच्युट फर भोकेसनल एजुकेसन एन्ड रिसर्चको सहयोगमा विद्यार्थीले उक्त प्रदर्शनी गरेका हुन् । प्रदर्शनीमा विद्यार्थीले आफैंले बनाएका विभिन्न बेकरी परिकार राखिएको थियो।
‘शिक्षासँग सीप’ भन्ने मुल मन्त्र लिएर विद्यार्थीलाई यो प्रोग्रामका लागि प्रोत्साहन गरिएको विद्यालयका प्रधानाध्यापक इन्द्र बहादुर राईले बताए। प्रधानाध्यापक राईका अनुसार सोही विद्यालयका विद्यार्थी सहित छिमेकी विद्यालयका शिक्षक,विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि र अभिभावकले प्रदर्शनी अवलोकन गरेका थिए।

विद्यार्थीले यसअघि मिराज ईन्स्टिच्युटमा बेकरी सम्बन्धि तालिम लिएका थिए। उनीहरुलाई आफ्नो सीप अन्य विद्यार्थी तथा अभिभावकको लागि पनि प्रेरित गर्ने उदेश्यले मिराज ईन्स्टिच्युटले सहयोगीको भूमिका निर्वाह गरेको मिराजका निर्देशक योगेश बस्ताकोटीले जानकारी दिए।
‘विद्यार्थीलाई पढाईसँगै उत्कृष्ट सीप पनि सिकाउन सकियोस् र भोलि आफ्नो लागि वा अभिभावकका लागी सहयोगी बन्न सकुन् भन्ने उदेश्यले विद्यालयसँग मिलेर काम गरेका हौं’- बस्ताकोटीले भने।

प्रदर्शनी अवलोकन गर्न पुगेका बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी र उपमेयर अनिता लामासँगै बालउद्दार, मदन-आश्रीत, पन्चकन्या लगायत स्कुलका शिक्षकले बालकुमारीका विद्यार्थीको सीप र उत्साहको खुलेर प्रशंसा गरेका थिए। प्रदर्शनीमा विद्यार्थीले आफुले बनाएका परिकार बिक्री समेत गरेका थिए।

