भीम रावलको ‘विद्रोह’ सही छ- नेकपा मसाल

काठमाडौं । नेकपा (मसाल) ले नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलको ‘विद्रोह’लाई सहि निर्णय भन्दै स्वागत गरेको छ।

मसालका महामन्त्री मोहनविक्रम सिंहले वक्तव्य नै प्रकाशित गरी रावलले ‘एमाले बाट साहसपूर्ण विद्रोह’ गरेको भन्दै रावलको कदम स्वागतयोग्य भएको बताएका छन्। फरक पार्टीको नेताले पार्टी छाड्दा पार्टीको महामन्त्रीले बिज्ञप्ति नै निकालेर स्वागत गरेको यो नौलो घटना हो।

महामन्त्री सिंहले वक्तव्यमा एमालेभित्र ओलीको अलोकतान्त्रिक र अधिनायकवादी कार्यशैलीको विरुद्ध रावलको कदमलाई ‘विद्रोह’ को सङ्ज्ञा दिँदै राष्ट्रियताको सन्दर्भमा रावलको दृष्टिकोण सही र देशभक्तिपूर्ण रहदै आएको समेत भनेका छन् । प्रतिगमन र साम्राज्यवादको नेपाली राष्ट्रियतामाथिको खतराको सन्दर्भमा पनि भिम रावलले सही दृष्टिकोण अपनाउने अपेक्षा समेत बक्तव्य मार्फत गरेको छ।

बक्तब्यमा भनिएको छ-‘एमालेबाट कामरेड भीम रावललाई निष्काशन गरिएको छ र उनले आफ्नो बेग्लै पार्टी बनाउन पहलकदमी सुरु गरेका छन्। उनले आफ्नो पार्टीको दशौँ महाधिवेशनदेखि नै त्यो पार्टीको नेतृत्वको विरोध गर्दै आएका थिए र पछिल्ला दिनमा पनि उनले आफ्नो पार्टीका नीतिको चर्को विरोध गर्दै आएका थिए। त्यस प्रकारको पृष्ठभूमिमा उनीमाथि त्यस प्रकारको कारबाही अप्रत्यासित थिएन। उनले उक्त दशौँ महाधिवेशनदेखि चर्को रूपले उठाउँदै आएको विरोधको स्वरमाथि विचार गर्दा उनीमाथिको कारबाहीलाई निष्काशन भन्नुभन्दा उनको विद्रोह भन्नु नै उपयुक्त हुने छ।’

त्यसैगरी महामन्त्री सिंहले जारी गरेको विज्ञप्तिमा ‘कामरेड भीम रावलमाथिको त्यो कारबाही वा विद्रोह जे भए पनि त्यो एमालेभित्र ओलीको अलोकतान्त्रिक र अधिनायकवादी कार्यशैलीको परिणाम हो। उनको त्यही प्रकारको कार्यशैलीको कारणले नै पूर्व माओवादी र एमाले मिलेर बनेको नेकपाको विघटन भएको थियो र माधव नेपाल समूहले एमालेबाट विद्रोह गर्नुपरेको थियो’ पनि भनिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय