तनाव र छट्पटीमा ओली !

काठमाडौं । नेकपा एमालेको केन्द्रिय समिति बैठक नजिकै छ। सचिवालय बैठक हिजो बस्यो। पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री समेत रहेकाले उनको सरकारी निवास बालुवाटारमा पनि छिटफुट बैठक बसेकै हुन्छ। तर, यतिबेला अध्यक्ष ओलीमा बेग्लै छट्पटी र बेचैनी बढेको उनका दैनिकीले देखाइरहेको छ।
पार्टीका पुर्व उपाध्यक्ष भिम रावल सहित स्थायी कमिटी सदस्य वृन्दा पाण्डे र केन्द्रिय सदस्य उषाकिरण तिमिल्सिनालाई कारबाही गरेसँगै ओलिमा झन् तनाव र बेचैनी बढेको छ। एकातिर नेपाली कांग्रेससँगको सत्ता सहकार्य सुखद ढंगले चलिरहेको छैन भने अर्कोतिर पार्टी भित्रै ओलीलाई चुनौती दिनेहरू देखिएका छन् । त्यसमाथि पार्टीबाट निकालिएका भिम रावलले पत्रकार सम्मेलन नै गरेर अध्यक्ष ओलीमाथी अनेकौं आरोप लगाएका छन् ।
यी सबै कुराले तनाब खेपिरहेका ओलीमाथि भविष्यमा आइपर्ने सम्भावित अर्को तनाव भनेको पुर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिमा पुनरागमन हो। एमालेकै तत्कालीन उपाध्यक्ष एवं महिला संगठन अध्यक्ष रहेकी भण्डारीले राजनीतिमा फर्किने चासो देखाएपछि संभवत आगामी महाधिवेशनमा अध्यक्ष हुने नै हो। जुन कुरा ओलीको लागि स्वीकार्य छैन। ओली आगामी महाधिवेशनमा सर्वसम्मत अध्यक्ष घोषित हुन चाहन्छन् ।
यहि तनाव र हैरानीका बिच ओलीले बिहीबार आकस्मिक रुपमा पुर्व राष्ट्रपति भण्डारी निवास बुढानिलकण्ठ पुगेर २ घन्टा छलफलमा बिताए। त्यहाँ जानुअघि पार्टी सचिवालय बैठकमा पुगेका ओलीले केन्द्रिय समिति बैठकका एजेन्डा र तयार पारेको राजनीतिक प्रतिवेदन बारे सामान्य चासो राखेका थिए।
पार्टी बैठकमा समय छैन भनेर बालुवाटारमा मिटिङ भएको बताएका ओली त्यहाँबाट पुर्व राष्ट्रपति निवास बुढानिलकण्ठ पुगेका थिए। पुर्व राष्ट्रपति भण्डारीलाई एमालेको राजनीतिमा ल्याउनु भनेको अध्यक्ष बनाउनु हो । ओलीको उपाध्यक्ष भएर बस्ने कुरा भएन । त्यसैले पनि भण्डारीलाई सकभर रोक्ने प्रयासमा ओली लागेका छन् । स्रोतका अनुसार ओलीले भण्डारीलाई राजनीतिमा लाग्दा हुने संबैधानिक अड्चन र पार्टी भित्र आइपर्ने समस्या बारे पटकपटक स्मरण गराएका थिए ।

