संयोग : एमाले-माओवादी केन्द्रिय समिति बैठक एकैदिन !

काठमाडौं । कुनै समय एकै ठाउँमा उभिएर एउटै पार्टीका दुई अध्यक्ष बनेका प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पुर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका छुट्टाछुट्टै पार्टीको केन्द्रिय समिति बैठक एकै दिन परेको छ।
नेकपा एमाले पुष २१ देखि केन्द्रीय कमिटी बैठकको तयारीमा जुटेको छ भने सोही दिन नेकपा माओवादी केन्द्रले पनि केन्द्रिय समिति बैठक बोलाएको छ। बैठकका लागि प्रधानमन्त्री ओलीले सरकारको कामबाट छुट्टी मिलाउदै छन् भने प्रचण्डले डकुमेन्ट लेख्दै छन् ।
प्रधानमन्त्री ओलीले सरकारको कामकारबाही सँगसँगै पुष २१ गतेबाट सुरू हुने पार्टीको केन्द्रीय कमिटी बैठकको लागि अहिलेदेखि नै समय छुट्याउन थालेको उनको सचिवालयले जनाएको छ। भिम रावल सहित ३ केन्द्रिय नेता माथिको कारबाही,पुर्व राष्ट्रपति विद्या भण्डारीको राजनीतिमा पुनरागमन,कांग्रेससँगको सत्ता सहकार्य र ०८४ को चुनाव लक्षित योजना सहित धेरै कुरामा अध्यक्ष ओलीले जवाफ दिनुपर्ने भएकोले यो केन्द्रीय कमिटी बैठकलाई महत्वका साथ हेरिएको छ ।
यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले पनि पार्टीको केन्द्रीय कमिटी बैठक यही पुष २१ गतेको लागि नै तय गरेका छन् । उनको लागि पनि यो बैठक निकै पेचिलो हुने अनुमान छ।
पुर्व झापादेखी कैलाली सम्म पार्टीको खबरदारी सभा सम्पन्न गरेर काठमाडौं फर्किएका प्रचण्ड यतिबेला केन्द्रीय कमिटीको लागि राजनीतिक डकुमेन्ट लेखनमा लागेका छन् । केही समयदेखि बैठकमा कुनै लिखित डकुमेन्ट ल्याउन नसकेका प्रचण्डले यसपटक लेखेरै ल्याउन लागेको उनको सचिवालयको भनाइ छ।
शान्ति प्रक्रियामा आएपछि प्रचण्ड महत्वपूर्ण निर्णय लिने र पार्टीका विभिन्न बैठकको एजेन्डा तय गर्ने भन्दै विस्वासपात्रको साथमा उपत्यकानजिकैका जिल्लाका रिसोर्टमा पुगेर डकुमेन्ट लेख्ने गर्दथे । बिगतमा सिन्धुपाल्चोकको सुकुटे देखि मकवानपुरको दामन र काभ्रेको धुलिखेल तथा नगरकोटका रिसोर्ट उनको लागि बुक गरिन्थ्यो।
नेकपा विघटन पछि छुट्टाछुट्टै पार्टी संचालन गरिरहेका ओली-प्रचण्डले बिचमा केही समय सत्ता सहकार्य गरेपनी अहिले आमनेसामने छन् । प्रचण्डले प्रधानमन्त्री ओलीविरुद्ध आक्रामक अभिव्यक्ति दिईराखेका छन् । ओलीले पनि प्रचण्डकै नाम लिएर भ्रष्टहरुको संरक्षक भन्ने गरेका छन् ।

