केराको पातमा प्रचण्डलाई खाना….

काठमाडौं । झापाको गौरिगञ्जमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्न पुगेका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई केराको पातमा खाना खुवाएर स्वागत गरिएको छ।

गौरिगञ्ज-१ का माओवादी कार्यकर्तासमेत रहेका तिलक राजवंशीको घरमा प्रचण्डसहितका नेताहरूले कोच संस्कृति अनुसार केराको पातमा भात खाएका हुन् । राजवंशीका अनुसार प्रचण्डलाई कोच राजवंशीको परम्परागत परिकार बनाएर केराको पातमा खुवाइएको हो। जसमा उसिना चामलको भात, कोचहरूको भाषामा भनिने पेलका साग, आलु कोपीको भाजी, माछा, लोकल हाँस, टमाटरको अचार, धनियाको चट्नी र पापडलाई कोला(केरा)को पातमा दिइएको हो ।

पार्टी अध्यक्ष समेत रहेका पुर्व प्रधानमन्त्री प्रचण्डलाई कोच संस्कृति अनुसारको खाना खुवाउन पाउँदा खुसी लागेको राजवंशीले बताए । ‘कोच जातिसहित उत्पीडितहरुको लागि लडिरहेको छु,आज कोच जातिको घरमा भात खान पाउँदा खुसी लागेको छ,’ प्रचण्डले राजवंशीलाई भने।

प्रचण्डको कुरामा राजवंशीले जवाफ फर्काए- ‘मैले पनि तपाईलाई सौभाग्यले खाना खुवाउन पाएँ,म झन धेरै खुशी छु।’

प्रचण्डले दुईतिर खप्ट्याएर राखेको केराको पातमा भात खाएका थिए ।प्रचण्डसहितको टोलीमा वाइसिएल र सुरक्षाकर्मी सहित केही नेताकार्यकर्ता पनि रहेको राजवंशीले बताए । प्रचण्डको टोलीमा पार्टीका कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेल, सह-इन्चार्ज सावित्रीकुमार काफ्ले, माओवादी संसदीय दलका कोशी प्रदेश नेता इन्द्रबहादुर आङ्बो, माओवादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सो, केन्द्रीय सदस्यहरु धर्मशिला चापागाईं, झलकसिंह दर्लामी, उनकी छोरी गंगा दाहाल, ज्वाई जीवन आचार्य, लगायतका नेताहरु सहभागी थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय