साँझबाट अधिकांश ठाउँमा पानी पर्ने पूर्वानुमान

काठमाडौं । आज (शुक्रबार) साँझदेखि देशका धेरैजसो भूभागमा बर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
साँझदेखि मुलुकका धेरै स्थानमा हिमपात र वर्षा हुनसक्ने भन्दै महाशाखाले चिसो बढ्ने र जनजीवन कष्टकर हुनसक्ने भएकोले सावधानी अपनाउन समेत भनेको छ ।
विभागले हिँउदे मौसमसम्बन्धी विशेष बुलेटिन जारी गर्दै पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार साँझदेखि मुलुकका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जनाएको हो ।
विभागले उक्त प्रणालीका कारण शुक्रबार अपरान्हदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ ।
साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थान र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम तथा गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । मौसम प्रणालीको असरका कारण तापक्रम घट्न गई चिसो बढ्नसक्ने समेत सम्भावना रहेको विभागले जनाएको छ ।

