माधव नेपालका अनेक दु:ख !

काठमाडौं । २०७८ सालमा तत्कालीन नेकपा एमाले फुटाएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी ३ बर्ष मै आफैं छिन्नभिन्न हुने अवस्थामा पुगेको छ।
तत्कालीन सरकारले पार्टी फुटाउन सहज हुने गरी अध्यादेश ल्याइदिएपछि एमाले पुर्व महासचिव एवं त्यस समयका वरिष्ठ नेता माधवकुमार नेपालले आफूसहित ५८ जना केन्द्रीय सदस्यलाई समेटेर नेकपा एकीकृत समाजवादी दर्ता गराएका थिए।
त्यतिबेला नेपाललाई साथ नदिएका घनश्याम भुसाल अहिले एकीकृत समाजवादीमा महासचिव छन् ।तर,पार्टी फुटको समयमा साथ दिन्छु भनेर अगाडि बढ्न भन्ने तर,पछाडीबाट भाग्ने १० भाइ मध्य भुसाल मात्रै समाजवादीमा पुगे।
भिम रावल,रघुजी पन्त,सुरेन्द्र पाण्डे,अष्टलक्ष्मि शाक्य,अमृतकुमार बोहरा,योगेश भट्टराई,युवराज ज्ञवाली, गोकर्ण बिष्ट एमाले मै छुटे भने रघुबिर महासेठ,शेरबहादुर तामाङ १/२ दिन मै फर्किए। त्यसपछि प्रदिप नेपालले पनि माधवकुमार नेपालको साथ छाडेर स्वतन्त्र भए।
२०७९ को निर्वाचनमा पार्टी राष्ट्रिय पार्टी समेत नभएर १० सिटमा सिमित भएपछि माधव नेपाललाई छाड्नेहरुको लर्को लागिरह्यो।बिगत एक बर्षको बिचमा सचिवालय सदस्य मुकुन्द न्यौपानेसहित चुणामणि जंगली, केदार न्यौपाने, भागवत विश्वासीले एकीकृत समाजवादीसँगको यात्रा टुंग्याएर एमाले मै फर्किए। त्यसैगरी केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, केन्द्रीय सदस्य शारदा स्वर्णकार, लुम्बिनी प्रदेश कमिटी सदस्य अमित शर्माले पनि नेकपा एसलाई छाडे। पार्टी सुदृढीकरण अभियान चलिरहेकै अवधिमा दाङसहितका जिल्ला अध्यक्षहरू पनि एमाले फर्किए। त्यसपछि तनहुँ,बागलुङ र रामेछापका जिल्ला अध्यक्षले एकीकृत समाजवादी पार्टीले औचित्य पुष्टि गर्न नसकेको निष्कर्ष निकाल्दै पार्टी छाडे। तनहुँ जिल्ला अध्यक्ष श्रीराम कार्की,रामेछापका जिल्ला अध्यक्ष रमेशकुमार बस्नेतले पनि एकीकृत समाजवादी त्यागेर एमाले फर्किए।
उता तत्कालीन सुदूरपश्चिम प्रदेश सभा सदस्यद्वय तारा लामा तामाङ र कुलवीर चौधरी एमालेमा फर्किए भने का थिए। लुम्बिनी प्रदेशका नेता तथा केन्द्रीय सदस्य बालकृष्ण चापागाईं र सुदूरपश्चिम प्रदेशका सदस्य विक्रम शाही तथा कर्णालीका प्रदेश कमिटी सदस्य गणेशबहादुर शाहीले पनि एमाले रोजे।
मधेस प्रदेशका पुर्व प्रदेश सभाका दुई सदस्य सुन्दर विश्वकर्मा र सीता गुरूङ, गुल्मी जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य नरेश भण्डारी, त्यतिबेलाका जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य गणेश खनालसहितका नेता पनि एमालेमै फर्किए।
यतिले मात्रै माधवकुमार नेपालका दु:ख सकिएनन। पार्टी भित्रकै प्रभावसाली नेतृ रामकुमारी झाक्री सहित धेरै नेताले झन्डै-झन्डै बिद्रोह गर्ने अवस्था समेत बन्यो। झाक्रीसँगै डा.बिजय पौडेल,बिरोध खतिवडा,किसान श्रेष्ठ,प्रेम आले,धनबहादुर बुढा,जिवनराम श्रेष्ठ लगायत दर्जन नेता रुष्ट बनेपछि धन्नै धन्नै पार्टी फुटाउने र एमालेमा मिसाउने योजना समेत बन्यो।
महाधिवेशनमा लागेको चोटका कारण रुष्ट भएको यो समूहलाई बल्ल बल्ल थामपुर पार्दै गरेका नेपालले पछिल्लो कार्यबिभाजनलाई समेत आलोचना रहित बनाउन सकेनन् । एकातिर आन्तरिक रुपमा पदाधिकारी चुनाव हारेका र पुर्व पदाधिकारीलाई समेटेर ४१ जनाको स्थायी कमिटी बनाएपछि तत्काल पार्टी फुट वा बिद्रोह रोकिएको भनियो। तर,उक्त कार्यबिभाजनमा आफुलाई नसोधीएको भन्दै पुनः सम्मानित नेता झलनाथ खनाल बोल्न थालेका छन् ।
एकातिर एमालेका पुर्व उपाध्यक्ष वामदेव गौतमलाई पार्टीमा भित्र्याउन जोडबल गरिरहेका अध्यक्ष नेपाललाई झलनाथको यो घुर्किले पुनः अर्को दु:ख आइलाग्ने निश्चित छ। वामदेवलाई बरिस्ठ नेता बनाउने लगभग टुंगो लागेको भनिएपनी झलनाथले यसबारे ‘जानकारी छैन’ भनेका छन् । यसले अध्यक्ष नेपाललाई थप टाउको दु:खाई हुने देखिन्छ। वामदेव बाहेक पनि अझै डा.भिम रावल समेतलाई पार्टीमा ल्याउने पहल समाजवादीले गरिरहेको छ।
वामदेव गौतम नेतृत्वको ‘पार्टी एकता राष्ट्रिय अभियान’ले नेकपा एकीकृत समाजवादीसँग एकताका लागि वार्ता गर्न तीन सदस्यीय कमिटी समेत गठन गरेको छ । अभियानका महासचिव डीबी कार्कीको नेतृत्वमा भगवती विष्ट र लोकनाथ धमला सदस्य रहेको तीन सदस्यीय वार्ता कमिटी गठन भएको हो ।
अध्यक्ष नेपालले अहिले आफ्नै नेताकार्यकर्ताको सहि ब्यबस्थापन गर्न नसकेको आरोप खेपिरहेका बेला वामदेवका ७२ जनालाई कसरी पद व्यवस्थापन गर्छन् यो भने हेर्न बाँकी नै छ।

