बालकोट घटना : बुबा र भाइको हत्या मिलनले स्वीकारे !

काठमाडौं । भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नम्बर-२ बालकोटमा भएको बुबा र एक छोराको हत्यामा उनकै अर्को छोरा संलग्न देखिएको तथ्य प्रहरीले फेला पारेको छ।
बुबा र भाइको हत्या पछि फरार रहेका भनिएका जेठा छोरा मिलन आचार्य पक्राउ परेपछि रहस्य खुलेको हो।यद्यपि यसका कारण अझै स्पष्ट भएको छैन।
सूर्य विनायक-२, बालकोटस्थित डेरामा हिजो सोमबार बिहान खोटाङ दिक्तेलका हुलाक कर्मचारी ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीण आचार्यको शव कोठामा बाहिरबाट ताला लगाएको अवस्थामा भेटिएको थियो। घटना पछि मिलन फरार थिए। उनी राती पठाओ बुक गरेर सातदोबाटो सम्म पुगेको सुराक प्रहरीले हिजै पाएको थियो।
बाबु र एउटा छोराको शव भेटिएपछि अर्को २५ वर्षीय जेठा छोरा मिलन फरार हुनुलाई प्रहरीले हत्यामा मिलनको संलग्नता हुनसक्ने आशंका सहित खोजी गरिरहेको थियो । त्यसै अनुरुप मंगलबार बिहान मिलन आफै महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आफूले बालकोटमा बुबा र भाईलाई मारेको प्रारम्भिक जानकारी दिएको बुझिएको छ।
उनले आत्मसमर्पण गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोली आवश्यक सोधपुछका निम्ति त्यहाँ पुगेको थियो।‘उनी नियन्त्रणमा छन्, घटना हामीले अनुमान गरेजस्तै उनीबाटै भएको स्वीकारे’, प्रहरी स्रोतले भन्यो।
महाराजगन्ज वृत्तका प्रहरीले मिलनलाई बुबा र भाइ मार्नुको कारणबारे सोध्दा प्रेमिकासँगको तनावले मन अस्थिर हुँदा त्यस्तो भएको बताएका थिए ।
बुढेसकालमै भए पनि स्कुटरको लाइसेन्स बनाउन बुबा कूलप्रसाद खोटाङबाट भक्तपुर आएका थिए । मिलनले डमबेल र सिलौटोले हानेर बुबा र भाइलाई मारेपछि डेरामै रहेको स्कुटी चलाएनन् । इनड्राइभबाट मोटरसाइकल मगाए । उक्त मोटरसाइकलमा सातदोबाटोसम्म पुगे ।
त्यहाँबाट फेरि अर्को इनड्राइभ गरेर कलंकी पुगे । त्यहाँ पुगेर मोबाइलको सिम फ्याँके । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलवार बिहान उनलाई कलंकीमा खोजिरहेको थियो । त्यहीबीच महारनगञ्ज प्रहरी वृत्तबाट अनुसन्धान टोलीले उनले आत्मसमर्पण गरेको खबर दियो ।

