वामदेवको समाजवादी यात्रा…

काठमाडौ। राष्ट्रिय सभा सदस्य एवं नेकपा एमालेका पुर्व उपाध्यक्ष वामदेव गौतम पुनः सक्रिय राजनीतिमा देखिने भएका छन् ।
हाल पार्टी एकता राष्ट्रिय अभियानको संयोजक समेत रहेका गौतमलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा भित्र्याउन तयारी थालेका छन् । वामदेवको रुचि पनि एकीकृत समाजवादी पार्टीमा रहेर राजनीति गर्ने नै रहेको छ।तर,चन्चले स्वभाव र झनक्क रिसाउने बानीले उनको यात्रा अनिश्चित नै छ।
पार्टीमा वामदेवलाई ल्याउने र बरिस्ठ नेताको पद दिने मोटामोटी सहमति माधवकुमार नेपालले पार्टी भित्र जुटाइसकेका छन् । त्यसै अनुरुप उनले ‘पार्टी एकता राष्ट्रिय अभियान’का संयोजक वामदेव गौतमसँग छलफल समेत गरेका छन् ।
गौतम निवास भैँसेपाटीमा बिहीबार बेलुकी दुई नेताबिच लामो छलफल भएको छ।वामदेव निकट मानिएका एकीकृत समाजवादीका नेता बलराम बास्कोटाले दुई नेताको छलफल सकारात्मक भएको खुलाएका छन् ।
बास्कोटा सहित हरि पराजुली पनि वामदेवका खास मानिस हुन् । वामदेव कै आग्रहमा उनीहरु अहिले एकीकृत समाजवादी मै सक्रिय छन् । यद्यपि वामदेवसँग अहिले पनि ७२ जनाको केन्द्रिय समिति रहेको दाबी गरेका छन् । रोचक त के छ भने वामदेवका ७२ भित्र उनकै श्रीमती तुलशा थापा छैनन् । उनी एमाले पार्टी मै सक्रिय छिन् ।
माधव नेपालसँगको छलफल पछि गौतमले आफ्नो पार्टीको केन्द्रीय समिति बैठक बोलाएर थप निर्णय गर्ने र सोही अनुसार अगाडी बढ्ने बताएका छन् । गौतमलाई भेट्न अध्यक्ष नेपाल सहित एकीकृत समाजवादीका नेताहरु प्रमेश हमाल र बलराम बाँस्कोटा गौतमको निवास पुगेका थिए।
एकीकृत समाजवादीको हालै सम्पन्न स्थायी कमिटी बैठकले गौतमलाई पार्टीमा भित्र्याउन संवाद गर्ने निर्णय गरेको थियो । यद्यपि नेकपा एमालेले पनि पार्टीमा गौतम आए ढोका खुल्ला छ भनेको थियो। तर,गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफुलाई एमालेमा लैजान नचाहेको अभिव्यक्ति दिएका छन् । उनी पुर्व राष्ट्रपति विद्या भण्डारी मार्फत पुनः एमालेमा सक्रिय हुने चर्चा पनि छ। तर, अध्यक्ष ओलीले भण्डारीलाई समेत ‘नो इन्ट्री’ भनिसकेको अवस्थामा गौतमको एमाले यात्रा सहज छैन।

