एनपीएलमा आज इलिमिनेटर र पहिलो क्वालिफायर खेल हुँदै
काठमाडौं, ३ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफका खेलहरू आजदेखि हुँदै छन् ।

प्लेअफ अन्तर्गत लिग चरणमा तेस्रो स्थानमा रहेको चितवन राइनोज र चौथो स्थानमा रहेको कर्णाली याक्सले इलिमिनेटर खेल्ने छन् । इलिमिनेटर खेल विहान ९ बजेदेखि टीयू क्रिकेट मैदानमा सुरू हुनेछ ।

इलिमिनेटर खेलमा पराजित हुने टोली बाहिरिनेछ । त्यसैले फाइनलमा पुग्नका लागि यस खेल जित्नैपर्ने दबाब रहनेछ । लिग चरणमा कर्णालीले चितवनमाथि अन्तिम ओभरमा रोमाञ्चक जित निकालेको थियो ।
त्यसैगरी आजै लिग चरणमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्सले पहिलो क्वालिफायर खेल्ने छन् । खेल दिउँसो १ बजेदेखि सुरू हुनेछ ।
पहिलो क्वालिफायरमा विजयी हुने टोलीले सिधै फाइनलमा स्थान बनाउने छ भने पराजित टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटरको विजेतासँग खेल्ने छ । पहिलो क्वालिफायरमा पराजित भएपनि फाइनल पुग्ने बाटो खुलै रहनेछ ।
यी दुई टोलीबीच समूह चरणमा भएको खेलमा सुदूरपश्चिमले शानदार जित निकालेको थियो । १२४ रनको लक्ष्य पछ्याएको जनकपुरलाई सुदूरले ५१ रनमा अलआउट गरेको थियो ।