एनपीएल विजेता टोलीले १ करोड १० लाख पाउने

काठमाडौं, २ पुस । नेपाल प्रिमियर लिग (एनपीएल)को पुरस्कार राशी घोषणा भएको छ । आयोजक नेपाल क्रिकेट संघ क्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै पुरस्कारको घोषणा गरेको हो ।

क्यानका अनुसार विजेता टोलीले एक करोड ११ लाख पुरस्कार पाउने भएको छ । त्यसैगरी उपविजेताले ५१ लाख र तेस्रो स्थानमा रहनेले २५ लाख तथा चौथो हुनेले १५ लाख पुरस्कार पाउने छन् ।

प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार दिने यसअघि नै क्यानले घोषणा गरिसकेको थियो ।

एनपीएलमा बुधबारदेखि प्लेअफ सुरू हुँदै छ । लिग चरणमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्सले पहिलो क्वालिफायर खेल्ने छन् । त्यसैगरी तेस्रो स्थानमा रहेको चितवन राइनोज र चौथो स्थानमा रहेको कर्णाली याक्सले इलिमिनेटर खेल्ने छन् ।

पहिलो क्वालिफायर र इलिमिनेटर दुवै खेल बुधबार हुनेछन् । इलिमिनेटर खेलमा पराजित हुने टोली बाहिरिनेछ । त्यसैगरी पहिलो क्वालिफायरमा विजयी हुने टोलीले सिधै फाइनलमा स्थान बनाउने छ भने पराजित टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटरको विजेतासँग खेल्ने छ । यसरी पहिलो क्वालिफायरमा पराजित भएपनि फाइनल पुग्ने बाटो खुलै रहनेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय