उमागौरी सहकारी प्रकरणः सांसदपत्नी विरुद्ध पक्राउ पुर्जी !

विराटनगर । मोरङको धनपालथान गाउँपालिकास्थित उमागौरी सहकारी ठगी प्रकरणमा सांसदपत्नी अन्जला कोइराला पोख्रेल सहित केही ब्यक्तिलाई पक्राउ पुर्जी जारी भएको छ।
पीडितहरुले दिएको उजुरीलाई सुरुमा प्रहरीले वेवास्ता गरेको आरोप लागिरहेका बेला सहकारी रजिष्ट्रार कार्यालयको प्रतिवेदनपछि अनुसन्धान सुरु गरिएको थियो । त्यसक्रममा एमाले सांसद तथा संघीय संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेलपत्नी अन्जला कोइराला पोखरेल सहित केहि सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।तर,उनी सहित २५ जना फरार छन् ।
सहकारीको संचालक मध्य श्रीमती अञ्जला पनि एक हुन् । अञ्जलालाई सहकारीमा ऋण लगानी गरेको आरएसडिसी लघुवित्तले कालोसुचीमा राखेको छ । उमागौरी कृषि सहकारीको रकम हिनामिना भएको समयमा अञ्जला सहकारीकै सञ्चालक रहेको बुझिएको छ। सो सहकारीको अनुसन्धान गरेको प्रहरीले विराटनगस्थित महेन्द्र रात्री विद्यालयकी शिक्षिका समेत रहेकी उनलाई उनलाई ‘फरार सूचीमा राखेर’ मुद्दा दर्ता गरेको छ ।
तर,अचम्म के छ भने फरार भनिएपनि अञ्जलाले गएको शुक्रबार पनि विद्यालयमा हाजिर गरेको उनका सहकर्मीको दाबी छ। शुक्रबार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सहिद रंगशालामा भएको कार्यक्रममा पनि उनी उपस्थित थिइन् । आइतबार भने उनले विरामी भएको भन्दै ५ दिनको विदा लेखेको विद्यालयले जनाएको छ।
सुरुमा सांसद पोखरेलको अगुवाइमा खोलिएको सो सहकारीमा अञ्जलालाई दोषी नदेखाउन कोशी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले उनको नाम हटाएर अनुसन्धानको लागि प्रहरीमा पत्र पठाएको पीडितको भनाइ थियो । तर, प्राप्त कागजात तथा पीडितहरुले दिएको उजुरीमा उनको संलग्नता देखिएकोले मुद्दा दर्ता गरिएको छ । तर,उनलाई फरार भनिएको छ।
मोरङ प्रहरीले प्रदेश रजिस्ट्रार कार्यालयको परिपत्रका आधारमा वर्तमान सञ्चालक समिति र लेखा समितिका १० जनाविरुद्ध यसअघि अदालतबाट पक्राउ पुर्जी जारी भएकोमा अनुसन्धानबाट अन्यको पनि संलग्नता देखिएकोले थप १६ जनालाई प्रतिवादी बनाएको छ । फरार २५ जना प्रतिवादीलाई अदालतको अनुमतिमा पक्राउ गरिने प्रहरीको भनाइ छ ।
निजहरुले सहकारी ऐन, २०७४ को दफा १२२ को देहाय (घ), (ङ), (च), (छ) (ज), (ञ) र (त) बमोजिमको कार्य कसूर गरेको स–प्रमाण पुष्टि भएको अभियोगपत्रमा उल्लेख छ । अभियुक्तहरुलाई सहकारी ऐनको दफा १२४ को उपदफा (१) को देहाय (घ) (५) बमोजिम विगो २२ करोड ४८ लाख २७ हजार ७०० रुपैयाँ बिगो कायम गरि ६ वर्षदेखि ८ वर्षसम्म कैद हुनुपर्ने मागदावी अभियोगपत्रमा छ ।
इलाका प्रहरी कार्यालय रंगेलीले अनुसन्धान गरी बुझाएको अभियोग प्रतिवेदनउपर अभियोजन गरेर सरकारी वकिलको कार्यालय मोरङले शुक्रबार पोखरेलपत्नी अञ्जला र सहकारीका अध्यक्ष शम्भु रौनियारसहित २६ जनाविरुद्ध २२ करोड बिगोसहित मुद्दा दर्ता गरेको छ । सहकारी सञ्चालक समिति तथा ऋण समितिमा रहेका पदाधिकारीले बचतकर्तालाई बचत गर्न लगाई सस्तो ब्याजदरमा ऋण प्रवाह गर्ने भनी झुटो आश्वासनसमेत दिई महिला उद्यमशील कर्जा सस्तो दरमा दिलाउने भनी नबिल बैंकलाई देखाई, मिलाई संस्थाबाट बचतकर्ताले लिने गरेको ऋणमा समेत हेरफेर गरी सेयर कमिसन, नियम विनियम अवज्ञा गरी विभिन्न स्थानमा शाखा खोली बचत रकम उठाउने गरेको, कर्जा कमिसन तथा ऋण प्रवाह नगरी केही रकम मात्र प्रवाह गरी रकम खाने–पचाउने नियतले संस्थाको २२ करोड ४८ लाख २७ हजार ७२० रुपैयाँ हिनामिना गरी सहकारी ऐनको निषेधित कार्य कसुर गरेको अभियोगमा मुद्दा दर्ता भएको छ ।
सो प्रकरणमा सहकारीका वर्तमान कार्यसमिति सदस्य धनपालथान गाउँपालिका-४ का ३७ वर्षीय रोशन राजवंशी मात्र पक्राउ परेका छन् । उनलाई मोरङ अदालतले शुक्रबार पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
धनपालथान गाउँपालिका-४ का पूर्व वडाअध्यक्ष राजवंशी सहकारीबाट आफैं पीडित भएको बताइएको छ। सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारले आमाको नाममा रहेको घरजग्गा बैंकमा धितो राखेर ८० लाख रुपैयाँ ऋण निकालेर प्रयोग गरेको भन्दै प्रहरीमा उजुरी लिएर आएका उनलाई प्रहरीले पक्राउ गरेको थियो । सो रकममा आफूले ३० लाख रुपैयाँ मात्र पाएको उनको भनाइ छ ।
प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अध्यक्ष रौनियार तथा सञ्चालक अञ्जलासहित सहकारीका उपाध्यक्ष लक्ष्मण साह रौनियार, सचिव आलम अन्सारी मियाँ र कोषाध्यक्ष शम्भुप्रसाद सिंह, सञ्चालक समिति सदस्यहरू आमोदकुमार मण्डल, जितमान ठाकुर र रोशन राजवंशीविरुद्ध मुद्दा चलाएको छ । त्यस्तै, लेखा समितिका संयोजक विजयकुमार यादव र सदस्यहरू सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासलाई पनि प्रतिवादी बनाइएको छ ।
त्यस्तै, पूर्वउपाध्यक्षहरू दिलमाया राई, उपासी राजवंशी, शम्भुप्रसाद सिंह, सन्तलाल खवास, सुमन लोहनी, पूर्वसहसचिव लक्ष्मीदेवी कार्की राजवंशी, पूर्वसदस्यहरू ज्योति बाँस्कोटा, मित्रप्रसाद सिवाकोटी, शरदराज सिंह, मनोजकुमार सोनी, मोहम्मद नसरुद्दिन र यशोदाकुमारी राजवंशीविरुद्ध मुद्दा चलाइएको छ । सहकारीका लेखापाल सोनु यादव, पूर्वकर्मचारीहरू मोहम्मद नजाम उद्दिन र चम्पा गिरी पनि प्रतिवादी छन् ।
उमागौरी सहकारीमा सांसद पोखरकी पत्नी अञ्जला सहकारीमा रकम हिनामिना हुँदाको बखत २०७२ देखि ०७८ सम्म सञ्चालक सदस्य थिइन् ।

