विद्या भण्डारी राजनीतिमा फर्किने हल्लासँगै एमाले भित्र हलचल !

काठमाडौं । पुर्व राष्ट्रपति एवं तत्कालीन नेकपा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी पुनः सक्रिय राजनीतिमा आउने अड्कलबाजीसँगै एमाले पार्टीमा हलचल मच्चिएको छ।
हाल निजि निवास बुढानिलकण्ठमा बस्दै आएकी पुर्व राष्ट्रपति भण्डारीलाई भेट्न दैनिकजसो एमालेकै नेताकार्यकर्ता घरमै पुग्ने गरेका छन् । भण्डारीले पनि एमालेको राजनीतिमा आउन इच्चुक रहेको आशय सहित अन्तरबार्ता दिदै आइरहेकी छिन् । यसले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयदेखि सिङ्गो एमाले भित्र हलचल पैदा गराएको छ।
पछिल्लो समय विद्या भण्डारी एमालेकै केही कार्यक्रममा अतिथि बनेर पुगेपछि पार्टी नेताहरू उनको राजनीतिक सक्रियताप्रती पक्ष विपक्षमा बाँडिएका छन् । केही एमाले नेता नै भण्डारीलाई पार्टीमा फर्काउने कसरतमा रहेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले त्यसको प्रतिवाद सुरु गरेका छन् । खासगरी एमाले भित्र ओलीको विपक्षमा रहेका धेरै नेता विद्यालाई राजनीतिमा ल्याउन लागिपरेका छन् ।
राष्ट्रपतिको कार्यकाल सकिएपछि विद्या भण्डारी स्वयं पनि नेकपा एमालेको राजनीतिमा सक्रिय हुने कुरा बेलाबेला चर्चामा छ। जानकारहरु भन्छन्-‘अहिलेपनी एमालेमा ३० प्रतिशत नेताकार्यकर्ता अध्यक्ष ओलीको विपक्षमा छन् ।’
पार्टीभित्रको ओली बिरोधी शक्तिलाई एकजुट पार्दै थप शक्ति आर्जन गर्न विद्या पक्षका नेताहरू लागिरहेको बुझिएको छ।पछिल्लो समय उपाध्यक्ष बिष्णु पौडेल र महासचिव शंकर पोखरेल तथा गण्डकीका पुर्व मुख्यमन्त्री खगराज अधिकारी र पुर्व मुख्यमन्त्री एवं हाल संघीय सरकारका संचार मन्त्री पृथ्वीसुब्बा गुरुङ बिचको लफडाले पनि यो कुराको संकेत गरेको छ।
एमाले भित्र विद्या भण्डारीको पुनरागमनलाई अध्यक्ष ओलीले समेत निको मानेका छैनन् । उनले सार्बजनिक रुपमै आफू निकट नेताहरूलाई बोल्न समेत लगाएका छन् । केही दिन अघि उपाध्यक्ष बिष्णु पौडेलले ११ औं महाधिवेशनमा केपी ओलीको विरुद्ध अध्यक्ष लड्ने कोहि छैन भन्नु र विशाल भट्टराईले अझै ७ बर्ष विद्या भण्डारी एमालेको राजनीतिमा आउन हुँदैन भन्नु यसैको संकेत हो।
त्यसो त विद्या भण्डारीको पक्षमा उपाध्यक्ष सुरेन्द्र पाण्डे,महासचिव शंकर पोखरेल,उपमहासचिव पृथ्वीसुब्बा गुरुङ,कोशी प्रदेशका पुर्व मुख्यमन्त्री शेरधन राई, बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेल लगायत अहिले पनि १८ जना सांसद खुलेरै लागेको चर्चा समेत चल्न थालेको छ। यद्यपि विद्या भण्डारीको गुट भनेर कसैले पनि छुट्टै भेला वा बैठक भने गरेका छैनन् ।

