कुनै पार्टीसँग एकता हुँदैन- नेकपा एस


काठमाडौं ।नेकपा (एकीकृत समाजवादी) ले तत्काल कुनैपनी पार्टीसँग एकता नगर्नेबारे सहमति जुटाएको छ। नेकपा माओवादी केन्द्रले समाजवादीसँग एकताको कुरा भैरहेको दाबी गरेको थियो।

विगत पाँच दिनदेखि जारी स्थायी कमिटी बैठकमा तत्काल कसैसँग एकता नगर्ने र ०८४ को चुनावमा गठबन्धन पनि नगर्ने कुरामा सहमति जुटेको एक नेताले बताए। पार्टी पदाधिकारी एवं केन्द्रिय नेताको कार्यबिभाजन पनि टुङ्गिएको छ। तर,जिम्मेवारी बाडफाडबारे आज सार्वजनिक गरिने छ।

पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाका अनुसार कुनै पनि दलसँग पार्टी एकता नगर्ने विषयमा सहमति जुटेको र अन्य बिषय आज (मंगलबार) टुंगिने छ। नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता हुने चर्चाको बीच एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा सम्मानित नेता झलनाथ खनालले त समाजवादी मोर्चा समेत आवश्यक नभएकोमा जोड दिएका थिए।

एकीकृत समाजवादीले एमाले बाहेक अन्य दलसँग सहकार्यका लागि भने मार्ग खुल्ला राखेको छ । दिउँसो १ बजे बस्ने बैठकले थप निर्णय गरेर सार्बजनिक गरिने सो पार्टीले जनाएको छ।‘आजको अवस्थामा देशका अन्य कुनै पनि कम्युनिष्ट पार्टीसँग एकीकरण गर्ने, पार्टी एकता गर्ने आजको अवस्था नरहेको, तर सहकार्यको सम्भावना सधैं जिवित रहेको हुँदा विभिन्न राष्ट्रिय एजेण्डाहरुमा सहकार्य गर्न हामी सबैलाई स्वागत पनि गर्छौं,’-उपाध्यक्ष खतिवडाले भने-‘सबैसँग सहकार्य गर्न तयार छौं । तर, कुनै पार्टीसँग एकता गर्ने सम्भावना आज नरहेको कुरा जानकारी गराउँछौं । यो विषयमा सहमति भइसकेको कुरा हो । बैठकपछि यो विषयमा निर्णय आउँछ।’

पार्टीप्रति नेता तथा कार्यकर्तामा बढ्दो निराशाको कारण अध्यक्ष माधव कुमार नेपालले पार्टी एकताको एजेण्डा अगाडि बढाएका थिए । तर, उपाध्यक्ष खतिवडा, सम्मानित नेता झलनाथ खनाललगायतको तीब्र दवाबका बीच अध्यक्ष नेपालले एकताको एजेन्डा छाडेको चर्चा छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय