पत्रकार महासंघमा पहिलो पटक महिला नेतृत्व

काठमाडौ । नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो पटक महिला नेतृत्व निर्वाचित भएको छ ।
गत शुक्रबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा निर्मला शर्मा विजयी भएसँगै महासंघले पहिलो पटक महिला नेतृत्व पाएको हो । नेकपा एमाले निकट उनले प्रतिद्वन्द्वी रमेश विष्टलाई एक हजार बढी मतले पराजित गरिन् । शर्माले ४ हजार २८२ मत पाएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाल प्रेस युनियनकै बिद्रोही उम्मेदवार रमेश विष्टले ३ हजार २०३ मत पाए।
नेपाली कांग्रेस निकट प्रेस युनियन र नेकपा एमाले निकट प्रेस चौतारीले गठबन्धन गरेर शर्माको नेतृत्वमा चुनाव लडेका थिए। पराजित भएका बिष्ट युनियनबाटै बिद्रोह गरेर प्रतिस्पर्धामा थिए।
केन्द्रीय निर्वाचन समितिले आइतबार राती सार्वजनिक गरेको नतिजा अनुसार बरिस्ठ उपाध्यक्षमा सोही प्यानलबाट दिपक आचार्य ४ हजार २३० मत पाएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी रोशन पुरीले २ हजार ८८६ मत पाए।
यसैगरी उपाध्यक्ष (महिला) मा ४ हजार ७०५ मत पाएर नितु पण्डित निर्वाचित भइन्। उनकी निकटम प्रतिद्वन्द्वी गंगा पौडेल बरालले २ हजार ६४४ मत प्राप्त गरिन्।
उपाध्यक्ष (समावेशी) मा उमिद बागचन्द ४ हजार २९२ मत पाएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी सुभाषप्रसाद साहले २ हजार ८० मत पाए।
महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भएका छन्। उनले ४ हजार ८४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी लेखनाथ न्यौपानेले १ हजार ९२९ मत पाए। तर,कोषाध्यक्षमा भने बिष्ट प्यानलबाट रामकृष्ण अधिकारी निर्वाचित भए। उनले शर्मा प्यानलका रामकृष्ण ज्ञवालीलाई पराजित गरेका हुन।
त्यसैगरी अधिकांश केन्द्रीय सदस्य पदमा सत्ता गठबन्धन निकटका उम्मेदवार नै विजयी भएका छन् । केही पदमा भने नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरका उम्मेदवार निर्वाचित भएका छन् । उपत्यकाबाट २ केन्द्रिय सदस्य सहित प्रतिष्ठान प्रदेश, काठमाडौं र ललितपुरको अध्यक्ष माओवादी निकट पत्रकारले जितेका छन् ।
अध्यक्षमा निर्वाचित शर्मा संचारीका समुहकि पुर्व अध्यक्ष हुन् । शर्माले आफू श्रमजीवी पत्रकारको पक्षमा सधैं प्रतिबद्ध भएर लाग्ने र पत्रकार हितका बिषयमा लड्ने प्रतिबद्धता जनाइन् ।

