२०८२ को दसैंमा फिल्मको ओइरो !
काठमाडौं । यसवर्षको सुरुदेखि नै नेपाली चलचित्रले भयंकर ब्यापार गर्न थालेपछि चलचित्रकर्मी पनि फिल्म निर्माणमा हौसिएका छन् ।

यसैवर्ष प्रदर्शन भएको ‘डिग्री माइला’, ‘पुजार सार्की’, ‘बेहुली फ्रम मेघौली’, ‘छक्का पन्जा-५’, ‘बोक्सीको घर’, ‘ज्वाईं साब’,’१२ गाउँ’, ‘ह्रस्व दीर्घ’, ‘तेल भिषा’ हुँदै ब्लकबष्टर भनिएको ‘पुर्णबहादुरको सारङ्गी’ सम्मले लगानी सुरक्षित मात्रै होइन निर्मातालाई मनग्य कमाइ गरिदिए।

केही चलचित्रले भने नराम्रोसँग डुबाइदिए पनि। जस्तै चित्रा, वर& बधु, सानो संसार, आँखा, मोदिबेनी, देवी, अगस्त्य, लण्डन टु पेरिस, गोर्खा वरियर जस्ता फिल्मले निर्मातालाई मात्रै डुबाएनन कि दर्शकलाई समेत पट्यार लाग्ने र पैसाको सत्यानास गरिदिए।
चलचित्र प्रदर्शनको लागि नयाँ वर्ष र चाडपर्व नै मुख्य टार्गेट हुने गरेको पनि छ। सकभर लामो छुट्टी पारेर चलचित्र रिलिज गर्दा दर्शक तान्न सकिन्छ भन्ने सोचाइ निर्माण पक्ष र हल संचालकको पनि हुन्छ। त्यसमा पनि दसैंलाई धेरैले आँखा लगाएका हुन्छन् । त्यसैले होला २०८२ को दसैंमा चलचित्रको बाढी नै लाग्ने देखिएको छ।
दसैंलाई लक्षित गर्ने मध्य निश्चल बस्नेत, दिपक राज गिरि, बिराज भट्ट, सन्तोष सेन र सुदर्शन थापा अगाडि देखिन्छन् । त्यसमाथि दिपक-दिपासँगै फिल्म जुधाउन अब नयाँ निर्माता निर्देशक पनि कस्सिएका छन् । २०८२ को दसैंमा दिपक-दिपाले छक्का पन्जाकै सिक्वेल ल्याउने पक्का छ भने बिराज भट्टले १२ गाउँको सिक्वेल र निश्चल बस्नेतले दिमाग खराब-२ ल्याउने तयारी गरेका छन् । यो बाहेक प्रदिप भट्टराईले पनि जात्राको सिक्वेल ल्याउने संकेत महाजात्रामै दिएका छन् ।
त्यसैगरी निर्माता सरोज न्यौपानेले पनि ०८२ को दसैंमा नयाँ फिल्म ल्याउने तयारी गरेका छन् । फिल्मको स्क्रिप्ट लेखनको काम भइरहेको र फागुन अन्तिम वा चैतबाट छायांकन सुरु हुनेछ।अनन्या फिल्म्सको प्रस्तुति रहने उनको फिल्म ‘फनफनी घुमेर’को निर्मातामा भविष्य खडका पनि छन् ।
त्यस्तै ०८२ दसैंमा फिल्म ‘महाराजधिराज’, ‘माइतीघर’ र ‘परालको आगो’ पनि प्रदर्शन हुने भनिएको छ। पुराना निर्माता निर्देशक अशोक शर्माले पनि ०८२ दसैं मै चलचित्र ल्याउने बताएका छन् । निर्देशक सुदर्शन थापा र सन्तोष सेनले पनि नयाँ प्रोजेक्टमा काम गरिरहेका छन् ।