पत्रकार महासंघ निर्वाचनमा सरकार समर्थक प्यानल कमजोर !

काठमाडौं। नेपाल पत्रकार महासङ्घको मङ्सिर २८ गते हुने निर्वाचनमा रमेश बिष्टको उम्मेदवारी परेपछि सरकार समर्थक निर्मला शर्मा समूह कमजोर देखिएको छ।
नेपाली कांग्रेस निकट पत्रकार संगठन नेपाल प्रेस युनियनले एमाले समर्थित प्रेस चौतारीका उम्मेदवार निर्मला शर्माको नेतृत्व स्वीकार गरेपछि प्रेस युनियन भित्रबाटै बिष्टले उम्मेदवारी दिएका हुन् । यसअघि महासंघको वरिष्ठ उपाध्यक्ष रहिसकेका रमेश बिष्ट श्रमजीवी पत्रकारको मुद्दा बोक्ने र सबैलाई मिलाएर लैजान सक्ने व्यावसायिक धारका पत्रकार मानिन्छन् । उनको उम्मेदवारीलाई कांग्रेस भित्रकै धेरै पत्रकारको समर्थन देखिन्छ।
रमेश बिष्टलाई नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर र एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन लगायत ६ संगठन र अन्य स्वतन्त्र पत्रकारको समर्थन छ। यसैगरी पुर्व सभापतिहरु गोविन्द आचार्यसहित अधिकांश पूर्व सभापतिहरूको समर्थन र शुभेच्छा रहेको बुझिएको छ।
प्रेस चौतारी र प्रेस युनियनले समर्थन गरेको निर्मला शर्मा समूहको साझा प्यानलको पक्षमा पुर्व सभापतिहरु रहेको भनिए पनि उम्मेदवारी घोषणा गर्दा उनीहरु खुल्न चाहेनन् । आइतबार राजधानीमा आयोजित साझा समूहको उम्मेदवार परिचय कार्यक्रममा पूर्व सभापति सुरेश आचार्य, महेन्द्र विष्ट र विपुल पोखरेल मात्रै सहभागी भएका थिए। कार्यक्रममा पूर्व सभापति तारानाथ दाहाल सहभागी हुने भनिए पनि उनी गएनन् ।यद्यपि अध्यक्षका प्रत्याशी निर्मला शर्माले पूर्व सभापतिहरू विष्णु निस्ठुरी र शिव गाउँलेको पनि समर्थन र सहयोग आफ्नो समूहलाई भएको जानकारी दिइन्।
कार्यक्रममा पूर्व सभापति धर्मेन्द्र झाको पनि उपस्थिति देखिएन।उनले फेसबुकमा लेखेको स्टाटसले समेत बजार तातेको छ।उनले आफू प्रेस युनियनको सल्लाहकार भएपनि कुनै सल्लाह नगरेको आशय सहित स्टाटस लेखेका थिए।
सो परिचयात्मक कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार निर्मला शर्माले आफू तीस वर्ष देखि लगातार पत्रकारितामा क्रियाशील रहेको र यस पटक समावेशी नेतृत्व( महिला) अध्यक्ष हुने अवसर आएकोमा खुसी प्रकट गर्दै जिताउन आग्रह गरिन् । कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पनि यस पटक इमानदारीताका साथ संयुक्त समूहलाई जिताउन अपिल गरेका थिए।
यो समूहबाट अध्यक्षमा निर्मला शर्मा,बरिष्ठ उपाध्यक्ष दीपक आचार्य,महिला उपाध्यक्ष नितु पण्डित,समावेशी उपाध्यक्ष उमिद प्रसाद बागचन्द,महासचिव रामप्रसाद दाहाल,सचिव खुल्ला रमेश खतिवडा,सचिव महिला सोनी शर्मा,सचिव आदीवासी जनजाती सविन प्रियासन,सचिव मधेशी अशोक कुमार तिवारी,सचिव दलित प्रकाश थौलाकोटी,सचिव एसोसिएट बैकुण्ठराज पराजुली र कोषाध्यक्ष रामकृष्ण ज्ञवाली मैदानमा छन् ।
यसैगरी रमेश बिष्ट नेतृत्वको प्यानलमा प्रगतिशील लोकतान्त्रिक श्रमजीवी पत्रकारको समूह छ। जसको बरिस्ठ उपाध्यक्ष रोशन पुरी,महिला उपाध्यक्षमा गङ्गा पौडेल (बराल), समावेशी उपाध्यक्षमा सुभासप्रसाद साह र महासचिवमा लेखनाथ न्यौपानेको उम्मेदवारी रहेको छ ।
यस्तै, खुला सचिवमा उत्तरसिंह विष्ट, मधेशी सचिवमा श्रीजन झा, महिला सचिवमा सरिता बराइली, दलित सचिवमा वसन्त विक, आदिवासी जनजाति सचिवमा भीषण राई, एशोसिएट सचिवमा विकास कार्की र कोषाध्यक्षमा रामकृष्ण अधिकारीले विष्टको प्यानलबाट उम्मेदवारी दिएका छन् ।

